पूर्वसूचना प्रणालीलाई समावेशी र समुदायमैत्री बनाउनुपर्नेमा जोड

काठमाडौँ, कार्तिक २६ । बढ्दो बहुप्रकोपको जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न विपद्सम्बन्धी पूर्वसूचना प्रणालीलाई समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप-३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘भोटेकोसीदेखि उत्थानशीलतासम्मः नेपालमा समावेशी बहुप्रकोप पूर्वसूचना प्रणालीको सुदृढीकरण’ विषयक छलफलमा सहभागी वक्ताले पूर्वसूचनाको पहुँच विस्तार, प्रविधिको उपयोग, संस्थागत समन्वय र वित्तीय स्रोत व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा धर्मराज उप्रेतीले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सरकारले नीतिगत, संस्थागत र प्राविधिक तयारी अघि बढाएको जानकारी दिनुभयो । उहाँले विशेषगरी हिमाली क्षेत्रमा तापक्रम, हिमनदी तथा अन्य प्राकृतिक प्रक्रियाको नियमित अनुगमन गर्न सक्ने सुदृढ प्रणाली आवश्यक रहेको बताउनुभयो ।

ग्रामीणमुखी युवा अभियान नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले नेपालमा विपद्सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सरकारी संरचना भए पनि समुदायस्तरसम्म सूचना पुर्‍याउने प्रणाली पर्याप्त समावेशी र प्रभावकारी हुन नसकेको बताउनुभयो ।

उहाँका अनुसार गृह मन्त्रालयअन्तर्गतका जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति र वडा तहका समितिलाई समुदायमा विपद्सम्बन्धी सूचना प्रवाह गर्ने जिम्मेवारी दिइएको छ । तर, सूचना प्रवाहमा मोबाइल सन्देशमा अत्यधिक निर्भरता रहेकाले सबै समुदायसम्म सूचना पुर्‍याउन चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो ।

एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरका कार्यकारी निर्देशक अस्लम पेरवाल्जले नेपालजस्तो भौगोलिक विविधता र उच्च विपद् जोखिम भएको मुलुकमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोत परिचालनको नयाँ ढाँचा आवश्यक रहेको बताउनुभयो ।

उहाँले फिलिपिन्सको राष्ट्रिय आर्थिक तथा विकास प्राधिकरण (नेडा) ले अघि सारेको अनुकूलन वित्त परिचालनको अवधारणाबारे जानकारी दिँदै जोखिम मूल्याङ्कन, जोखिम नक्साङ्कन र स्थानीय समुदायसँगको परामर्शमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्राक्टिकल एक्सन बङ्गलादेशकी जलवायु तथा उत्थानशीलता प्रमुख तमान्नाह रहमानले बङ्गलादेशमा मोबाइल फोनमार्फत आवाजमा आधारित पूर्वसूचना प्रणाली प्रभावकारी रहेको अनुभव सुनाउनुभयो ।

उहाँका अनुसार बङ्गलादेशको ९८ प्रतिशत जनसङ्ख्याको पहुँचमा मोबाइल फोन रहे पनि स्मार्टफोन प्रयोगकर्ताको सङ्ख्या १६ प्रतिशत मात्र रहेकाले सबै समुदायसम्म सूचना पुर्‍याउन आवाजमा आधारित सन्देश प्रणाली विकास गरिएको हो ।

बङ्गलादेशमा बाढी पूर्वानुमान तथा पूर्वसूचना केन्द्रबाट प्राप्त प्राविधिक सूचनालाई सर्वसाधारणले बुझ्ने सरल भाषामा रूपान्तरण गरी करिब एक मिनेटको आवाज सन्देश बनाएर मोबाइलमार्फत समुदायमा पठाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

ग्रामीणमुखी युवा अभियान नेपाल र प्राक्टिकल एक्सनको संयुक्त आयोजनामा भएको छलफलको सहजीकरण प्राक्टिकल एक्सनकी वरिष्ठ जलवायु उत्थानशीलता सल्लाहकार डेमेट इन्टेपेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *