पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम
काठमाडौँ, कार्तिक २६ । विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा, सार्वजनिक सुरक्षा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल संवत् ११४७ को स्वागतमा मङ्गलबार राति आयोजित न्हुदँया भिन्तुना र्यालीका सहभागी तथा आन्तरिक पर्यटकले टौमढी क्षेत्रमा राति करिब ८ बजेदेखि मध्यरातिसम्म सयौँको सङ्ख्यामा पटाका पड्काएका थिए । पटाकाबाट निस्किएको आगोको झिल्काले सयौँ वर्ष पुराना काठका संरचना तथा ऐतिहासिक मन्दिरमा आगलागी हुनसक्ने जोखिम बढाएको स्थानीयको भनाइ छ ।
स्थानीय केपी छुस्याखीले सामाजिक सञ्जालमा पटाका पड्काइएको तस्बिर सार्वजनिक गर्दै सांस्कृतिक चेतना र नागरिक जिम्मेवारीको अभावमा ऐतिहासिक सम्पदामाथि जोखिम बढेको उल्लेख गर्नुभएको छ । भव्य काठका संरचनाबीच बारुदजन्य पदार्थ प्रयोग गर्नु सांस्कृतिक धरोहरमाथिको गैरजिम्मेवार व्यवहार भएको उहाँको टिप्पणी छ ।
त्यस्तै, स्थानीय अनिल पाउँले पटाका पड्काउने व्यक्ति वा समूहको पहिचान गरी सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोका आधारमा सम्बन्धित निकायले कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।
मङ्गलबार राति टौमढी क्षेत्रमा पटाका पड्काइँदा चर्को आवाज र धुवाँका कारण आसपासका सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । स्थलगत अवलोकनका क्रममा पटाकाबाट निस्किएको धुवाँले श्वास फेर्नसमेत कठिन भएको देखिएको थियो । पटाका पड्काउने क्रममा रकेट पटाका माथि जान नसकी बच्चा बोकेकी एक महिलाको खास्टोमा अड्किएको घटनासमेत भएको थियो । समयमै ध्यान दिइएकाले सम्भावित दुर्घटना टरेको थियो ।
पटाकाको झिल्का मन्दिरका पुराना तथा मक्किएका काठमा परेको भए ठूलो क्षति हुनसक्ने अवस्था रहेको प्रत्यक्षदर्शीको भनाइ छ । घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति रहे पनि पटाका पड्काउनेको सङ्ख्या धेरै भएकाले नियन्त्रण गर्न कठिन भएको एक सुरक्षाकर्मीले बताउनुभएको थियो । उहाँका अनुसार प्रहरीले दसैँदेखि नै पटाका नपड्काउन सार्वजनिक सूचना जारी गर्दै आएको छ भने केही व्यक्तिलाई नियन्त्रणमा समेत लिइसकेको छ ।
टौमढीका स्थानीयवासी सत्य शर्माले पटाकाको चर्को आवाज र धुवाँले स्थानीयको जनजीवन प्रभावित भएको बताउनुभयो । राति अबेरसम्म पटाका पड्काइँदा स्थानीयवासी सुत्न नपाएको र बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई थप समस्या भएको उहाँको भनाइ छ ।
पटाका पड्काउँदा निस्कने धुवाँमा सूक्ष्म कण (पीएम २.५), सल्फर डाइअक्साइड तथा विभिन्न धातुका कण हुन सक्छन् । यस्ता प्रदूषकले आँखा, नाक र घाँटीमा जलन गराउनुका साथै खोकी, दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा यसको असर बढी पर्न सक्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सूक्ष्म कणसहितको वायु प्रदूषणमा लामो समयसम्म सम्पर्कमा रहँदा फोक्सोको क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छन् । पटाकाबाट निस्कने धुवाँमा रहेका विषाक्त पदार्थ तथा धातुका कणले पनि स्वास्थ्य जोखिम बढाउन सक्छन् । यद्यपि एकपटक धुवाँको सम्पर्कमा पर्दैमा क्यान्सर हुने नभई जोखिम प्रदूषणको मात्रा, सम्पर्कको अवधि र पटकपटकको सम्पर्कमा निर्भर रहने स्वास्थ्यसम्बन्धी अध्ययनले देखाएका छन् ।
विश्वसम्पदा क्षेत्रमा पर्ने ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण राज्यको मात्र नभई नागरिकको पनि साझा जिम्मेवारी हो । विशेषगरी पाँचतल्ले मन्दिरजस्तो ऐतिहासिक सम्पदाका काठका संरचनामा आगोको झिल्का परेर क्षति पुगे त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत स्थानीयले उठाएका छन् ।
चाडपर्व तथा उत्सव मनाउने नाममा सार्वजनिक सुरक्षा, मानव स्वास्थ्य र ऐतिहासिक सम्पदालाई जोखिममा पार्ने गतिविधि रोक्न स्थानीय सरकार, प्रहरी प्रशासन, जनप्रतिनिधि तथा नागरिक सबै जिम्मेवार हुनुपर्ने स्थानीयको भनाइ छ । तिहारको अन्तिम दिनसमेत यस्ता घटना नदोहोरिऊन् र ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले प्रभावकारी निगरानी गरोस् भन्ने उनीहरूको अपेक्षा छ ।
