सुनार टोलमा तिहारको दक्षिणा र कोसेली पनि बराबरी

काठमाडौँ, कार्तिक २६ । धनकुटाको पाख्रीबास नगरपालिका–७ मुगास्थित सुनार टोलका बासिन्दाले विगत १० वर्षदेखि सामूहिक रूपमा तिहार मनाउँदै आएका छन् । टोलका १० घरपरिवारका सदस्य एकै ठाउँमा भेला भएर भाइटीका लगाउने, सामूहिक खानपिन गर्ने र नाचगान गरी तिहार मनाउने गर्छन् ।

परिवार र आफन्तबीच सीमित हुँदै गएको तिहारलाई सामूहिक उत्सवका रूपमा मनाउने परम्परा स्थानीय नगेन्द्र गहतराजको पहलमा सुरु भएको हो । दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई आत्मीय र प्रगाढ बनाइराख्ने उद्देश्यले सामूहिक रूपमा तिहार मनाउन थालिएको गहतराजले बताउनुभयो ।

टोलमा रहेको सानो सामुदायिक घर सामूहिक तिहार मनाउने साझा थलो बनेको छ । तिहार मनाउँदा लाग्ने खर्च सबै घरपरिवारले बराबरी बाँड्ने गरेका छन् । दिदीबहिनीले पनि सबै दाजुभाइलाई एकै प्रकारका कोसेली दिने चलन छ ।

भाइटीकामा दिदीबहिनीले दिने दक्षिणासमेत दाजुभाइले व्यक्तिगत रूपमा नराखी बराबरी बाँड्ने गरेका छन् । कसैले बढी र कसैले कम पाउने अवस्था अन्त्य गरी सबै परिवारबीच समानता र आत्मीयता कायम गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको गहतराजले बताउनुभयो ।

सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय सुनार टोलबाट बहुदलीय व्यवस्था पुनःस्थापनापछि दुई जना स्थानीय वडाध्यक्ष बनिसकेका छन् । नगरपालिका स्थापना भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा यसै टोलकी एक दलित महिला सदस्यसमेत निर्वाचित भएकी थिइन् ।

व्यक्तिगत रूपमा मनाइने चाडलाई सामूहिक उत्सवमा रूपान्तरण गर्दै आएको सुनार टोलका बासिन्दाले तिहारलाई टीका र दक्षिणामा मात्र सीमित नराखी आपसी सम्बन्ध, सद्भाव, समानता र सहकार्य अभिवृद्धि गर्ने पर्वका रूपमा मनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *