वर्षाका कारण बालगोपालेश्वरमा भाइटीका प्रभावित
काठमाडौँ, कात्तिक २५ । अकस्मात् वर्षा भएपछि काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन पुगेका भक्तजन प्रभावित भएका छन् ।
भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुने भक्तजनको भीड लागेको थियो । तर, अपराह्न अचानक वर्षा भएपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको भक्तजन रामजी नेपालले जानकारी दिनुभयो ।
वर्षा जारी रहेपछि मन्दिर परिसरमा भक्तजनको उपस्थिति पनि पातलिएको छ । दिदीबहिनी वा दाजुभाइ नहुनेले भाइटीकाका दिन पूजा, दर्शन गरी टीका लगाउने परम्पराअनुसार बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
बुधबार बिहानैदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो । विसं २०३५ पछि रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन नियमित रूपमा खुल्न थालेको हो ।
विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको मन्दिरको पुनर्निर्माणपछि विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गर्न थालिएको हो ।
