बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका
काठमाडौँ, कार्तिक २६ । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् ।
नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकाले एकापसमा टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् ।
तिहारका बेला बालबालिकालाई एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई आश्रय प्रदान गर्दै आएको बालगृहले उनीहरूको माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थासमेत गर्दै आएको छ ।
सभापति शाक्यले व्यक्तिगत रूपमा पूजासामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरी बालगृहमा भाइटीका कार्यक्रम आयोजना गर्नुभएको हो ।
बालगृहमा विगत चार वर्षदेखि हरेक तिहारमा सामूहिक भाइटीका कार्यक्रम आयोजना हुँदै आएको छ । यसले अभिभावकविहीन बालबालिकालाई चाडपर्वमा पारिवारिक आत्मीयता र अपनत्वको अनुभूति गराउन सहयोग पुगेको छ ।
