बत्ती निभ्नु हुँदैन, निभे पात्रको मृत्यु हुन सक्छ
ललितपुर, २१ कार्तिक । गत कार्तिक १३ गतेदेखि पाटनको मंगलबजारस्थित कात्ति डबलीमा प्रदर्शन हुँदै आइरहेको कात्तिक नाचको आज आठौं दिन नृसिंह अवतार (हिरण्यकश्यपु) वध प्रदर्शन हुँदैछ । नृसिंह अवतार प्रदर्शनलाई सम्पूर्ण कात्तिक नाचकै सबैभन्दा महत्वपूर्ण र रोमाञ्चक प्रस्तुतीका रूपमा लिने गरिन्छ ।
यसमा भगवान बिष्णुको पाँचौं अवतार नृसिंह प्रकट भई हिरण्यकश्यपुको वध गर्ने दृश्यलाई अत्यन्त रोमाञ्चक ढंगले प्रस्तुत गरिन्छ । आजको प्रस्तुती हेर्न मंगलबजारमा पहिलेभन्दा धेरै दर्शकहरू पनि भेला हुने गर्दछ ।
कात्तिक नाचमा नृसिंह अवतार प्रस्तुत गर्ने पनि आफ्नै मौलिक विधि रहँदै आएको देखिन्छ । यो नाचमा जो कोही पनि पात्र बन्न पाइँदैन । कात्तिक नाचका प्रचार संयोजक संजय राजोपाध्यायका अनुसार आज देखाइने नृसिंह नाचमा नृसिंह हुने पात्र राजोपाध्याय समुदायकै हुनुपर्छ भने हिरण्यकश्यपु बन्ने पात्र चित्रकार समुदायकै हुनुपर्दछ ।
चित्रकारमा पनि जोसुकै यसमा खेल्न पाइँदैन । चित्रकारहरूको एउटा छट्टै गुठी रहेको छ, गुठीले छानेर पठाएको व्यक्तिले मात्रै यो भूमिका निर्वाह गर्नुपर्दछ ।
राजोपाध्याय भन्नुहुन्छ, ‘आज देखाइने नाचमा जब नृसिंहले हिरणकश्यपुको वध गर्छन्, तब हिरण्यकश्यपु बनेका पात्र साँच्चै नै मुच्र्छा हुन्छन् । उनी अभिनय गरेर मुच्र्छा हुने होइन, यथार्थमै मुच्र्छा हुन्छन् । डेढ दुई घन्टा जति उनलाई होशै हुँदैन ।’
‘कात्तिक नाचको यो एउटा अनौठो पक्ष हो,’ उहाँ भन्नुहुन्छ ।
मुच्र्छा भएका हिरण्यकश्यपुलाई ब्युँताउन राजोपाध्याय समुदायकै अर्का व्यक्ति आएर अनुष्ठान गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै उनी पुनः होशमा आउँछन् ।
यो अत्यन्त जटिल र संवेदनशील क्षण पनि हुने भएकोले उक्त दिनको नाच हेर्न हिरण्यकश्यपु बनेका पात्रका सबैजसो आफन्तहरू मंगलबजार पुगेका हुन्छन् । तर उनको आफ्नै श्रीमतीले भने आजको नाच हेर्न हुँदैन भन्ने मान्यता रहेको छ । त्यसैले श्रीमती घरमै बसेर एउटा दियोमा बत्ती बाली त्यसको रेखदेख गरिरहेका हुन्छन् ।
राजोपाध्याय बताउनुहुन्छ, ‘यदि घरमा बलिरहेको त्यो दियो निभ्यो भने उता कात्ति डबलीमा मुच्र्छा भएका हिरण्यकश्यपुको साँच्चैकै निधन हुन सक्छ भन्ने पनि मान्यता छ । तथापि आजसम्म त्यस्तो घटना भने भएको छैन ।’
यो नाचमा कृष्ण मन्दिरमा पूजा गर्ने राजोपाध्याय मात्रै नृसिंह बन्न पाइन्छ भने मुच्र्छा भएका हिरण्यकश्यपुलाई ब्युँताउन तलेजुमा पूजा गर्ने राजोपाध्याय नै आउनुपर्ने हुन्छ । अहिलेसम्म यही परम्परा चल्दै आएको पाइन्छ ।
कात्तिक नाचमा आजको प्रस्तुती महत्वपूर्ण हुने भएकोले आजको नाच पनि हिजो अस्तिका तुलनामा लामो हुने जानकारी उहाँले दिनुभयो । कार्तिक नाच संरक्षण समितिको पहलमा देखाइँदै आइरहेको यो नाच मंगलवार समापन हुँदैछ ।