मौलिक लोकनृत्य ‘भोसो’ले कसिलो बनाउँदै दैलेखको सामाजिक सद्भाव

लोकसंस्कृति ‘भोसो’

काठमाडौँ, कार्तिक २३ । सल्लाको दियालोले गाउँका गल्ली उज्यालिन्छन्, परम्परागत लोकभाकामा पुर्खाका कथा र वीरगाथा गुञ्जिन्छन् । गाउँलेहरू एकै ठाउँमा भेला भएर गीत गाउँदै गाउँ परिक्रमा गर्छन् । तिहारको अवसरमा दैलेखका विभिन्न बस्तीमा देखिने यो दृश्य मौलिक लोकसंस्कृति ‘भोसो’को हो । धार्मिक आस्था, ऐतिहासिक स्मृति र सामुदायिक एकताको प्रतीकका रूपमा रहेको भोसोले पुस्तौँदेखि स्थानीय समाजमा आपसी सद्भाव र भाइचाराको सम्बन्ध बलियो बनाउँदै आएको छ ।

कर्णाली प्रदेशका दैलेख, जुम्ला, कालीकोट र जाजरकोटमा तिहारसँगै मनाइने भोसो विशेषगरी दैलेखमा मौलिक सांस्कृतिक परम्पराका रूपमा स्थापित छ । कात्तिक कृष्ण चतुर्दशीको रात मनाइने यस पर्वमा लोकभाकामार्फत ऐतिहासिक घटनाक्रम, पुराना शासकका कथा र पुर्खाको वीरता प्रस्तुत गरिन्छ । गीत तथा नृत्यमा स्थानीय जनजीवन, सुखदुःख, खेतीपाती, ऋतु परिवर्तन र श्रमप्रतिको सम्मानसमेत अभिव्यक्त हुने भएकाले यसले मनोरञ्जनसँगै सामाजिक र सांस्कृतिक महत्व बोकेको छ ।

जिल्ला सदरमुकाम आसपासका जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा ऐतिहासिक क्षेत्र दुल्लुलगायतका गाउँमा यो परम्परा अझै जीवन्त छ । पुस्तौँदेखि स्थानीय समुदायले मौलिक स्वरूपमा संरक्षण गर्दै आएको भोसो पर्वलाई स्थानीय भाषामा ‘एकदिने खेल’ पनि भन्ने गरिन्छ ।

पुर्खाको वीरता, ऐतिहासिक कथा र लोकजीवन समेटिएको परम्परा संरक्षणमा पुस्तान्तरणको चुनौती

स्थानीय ज्येष्ठ नागरिकका अनुसार भोसोको सुरुआत पौराणिक कथासँग जोडिएको छ । भगवान् विष्णुले राजा बलिको घमण्ड तोड्न उनलाई पाताल पठाएको प्रसङ्गसँग यसको उत्पत्ति जोडिएको जनविश्वास छ । यस पर्वको व्यवस्थापन गर्ने मुख्य व्यक्तिलाई ‘नायक’ र भोसो खेलमा सहभागी हुनेलाई ‘भुआरा’ भन्ने गरिन्छ । परम्परागत जिम्मेवारी र भूमिकाअनुसार सहभागी भएर पर्व सञ्चालन गर्ने चलन छ ।

भोसोको तयारी र प्रस्तुति पनि आफ्नै मौलिक शैलीको हुन्छ । साल वा बाँसबाट आकर्षक ‘कोठी’ तयार गरिन्छ । त्यसमा सल्लाको दियालो अर्थात् झोरो बालिन्छ । चार जना भुआराले बलिरहेको कोठी काँधमा बोकेर गाउँ परिक्रमा गर्छन् । अन्य गाउँलेहरू परम्परागत गीत गाउँदै उनीहरूको अघि–पछि लाग्छन् । रातभर लोकभाका र नृत्यका माध्यमबाट गाउँको वातावरण उत्सवमय बनाइन्छ ।

कात्तिक कृष्ण चतुर्दशीको रातभर खेलिने भोसो लक्ष्मीपूजाको बिहान नजिकैको नदी, धारा वा परम्परागत रूपमा तोकिएको ‘भुवाखाडा’मा लगेर विसर्जन गर्ने चलन छ । त्यसपछि लक्ष्मीपूजाका दिन धमारी, चुट्का र मारुनी गाउँदै घरघरमा भैलो तथा सिलङ्गी डाली खेल्ने परम्परा पनि जोडिएको छ । यसरी भोसो एउटा रातको सांस्कृतिक प्रस्तुतिमा मात्र सीमित नभई तिहारसँग सम्बन्धित स्थानीय परम्परा र सामुदायिक सहभागिताको अभिन्न हिस्सा बनेको छ ।

समयक्रमसँगै भोसोको प्रस्तुति र सामाजिक अभ्यासमा पनि परिवर्तन आएको छ । विगतमा खेलका क्रममा परम्परागत रूपमा केही अपशब्द तथा गालीगलौजका शब्द प्रयोग हुने गरे पनि पछिल्लो समय त्यस्ता शब्द हटाएर प्रस्तुति मर्यादित बनाइएको छ । नारायण नगरपालिका–२ का ज्येष्ठ सदस्य लालबहादुर थापाका अनुसार अग्रजको प्रेरणा र सामूहिक प्रयासबाट निरन्तरता पाएको यो परम्परा पछिल्लो समय अझ सभ्य र व्यवस्थित बन्दै गएको छ ।

भोसोको विशेषता यसले स्थानीय समाजका विभिन्न पक्षलाई एउटै सांस्कृतिक सूत्रमा जोड्नु पनि हो । जातीय तथा सामाजिक सीमाभन्दा माथि उठेर गाउँलेलाई एउटै उत्सवमा सहभागी गराउने यस परम्पराले आपसी परिचय, सहकार्य र आत्मीयता बढाउन मद्दत गरेको स्थानीयको अनुभव छ । लोकगीतमा प्रस्तुत हुने समाजका विकृति र कमीकमजोरीप्रतिको व्यङ्ग्य तथा सुधारको सन्देशले पनि सामुदायिक चेतना अभिवृद्धि गर्न भूमिका खेल्ने गरेको छ ।

तर पछिल्लो समय मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण चुनौतीपूर्ण बन्दै गएको छ । आधुनिक जीवनशैली, विदेशी संस्कृतिको प्रभाव र युवापुस्ताको बदलिँदो रुचिका कारण परम्परागत लोकभाका, नृत्य र सांस्कृतिक विधि सिक्ने तथा अभ्यास गर्ने क्रम कमजोर हुन थालेको स्थानीयको चिन्ता छ । ज्येष्ठ सदस्य थापा पुर्खाबाट सिक्दै आएको संस्कृति अब नयाँ पुस्ताले जिम्मेवारीपूर्वक जोगाउनुपर्ने बताउनुहुन्छ ।

“हामीले मेला–पर्वमा अग्रजका गीत र मौलिक लय सुनेरै यो संस्कृति जोगायौँ । अब पुर्खाको अमूल्य धरोहर संरक्षण गर्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने जिम्मेवारी युवाको काँधमा आएको छ”, उहाँ भन्नुहुन्छ ।

पूर्वप्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले पनि विदेशी संस्कृतिको बढ्दो प्रभाव र अनुशासनको कमीका कारण मौलिक संस्कृतिको पुस्तान्तरण चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । अग्रज, समकालीन र नयाँ पुस्ताबीच सहकार्य बढाएर यस्ता परम्परालाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ । मौलिक संस्कृतिले समाजमा बन्धुत्व, एकता र आपसी सद्भावको सन्देश दिने भएकाले युवालाई यसको अभ्यास र संरक्षणमा सहभागी गराउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

भोसो संरक्षणका लागि यसको ऐतिहासिक पृष्ठभूमि, लोकभाका, गीतका शब्द, नृत्यशैली र परम्परागत विधिको अभिलेखीकरण आवश्यक देखिन्छ । ज्येष्ठ नागरिक र अनुभवी कलाकारसँग रहेको ज्ञानलाई श्रव्यदृश्य तथा लिखित माध्यमबाट सुरक्षित गर्न सके नयाँ पुस्तालाई सिकाउन सहज हुनेछ । स्थानीय तह, सांस्कृतिक संस्था र समुदायबीच सहकार्य गरी विद्यालय तथा समुदायस्तरमा नियमित अभ्यास र प्रदर्शनका अवसर सिर्जना गर्न सके यसको निरन्तरता सुनिश्चित गर्न सकिन्छ ।

दैलेखको भोसो केवल तिहारमा देखाइने लोकनृत्य वा मनोरञ्जनको माध्यम होइन । यसले पुर्खाको इतिहास, स्थानीय जीवनशैली, धार्मिक विश्वास र सामाजिक सम्बन्धलाई एकैसाथ जोडेको छ । परम्परागत गीत र नृत्यका माध्यमबाट समुदायलाई एक ठाउँमा ल्याउने यसको अभ्यासले सामाजिक सद्भाव र सामूहिकताको महत्वसमेत उजागर गर्छ ।

पुर्खाले हस्तान्तरण गरेको यो मौलिक सम्पदा नयाँ पुस्ताले अपनत्वका साथ संरक्षण गर्न सके भोसोको लय र परम्परा मात्र होइन, यसले बोकेको सामाजिक एकता, सांस्कृतिक पहिचान र भाइचाराको सन्देश पनि भावी पुस्तासम्म जीवन्त रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *