आज ‘हलिमलि’ सजाइने पूर्णिमा
काठमाडौँ, २२ कार्तिक । आज पूर्णिमा । आजको पूर्णिमालाई काठमाडौं उपत्यकाका स्थानीयवासीहरू ‘सकिमिला पुन्हि’ अथवा ‘हलिमलि पुन्हि’ का रूपमा मनाउने गर्दछन् ।
आजको दिन सक्खरखण्ड, पिँडालु खाने गरिन्छ । नेपालभाषामा पिँडालुलाई ‘सकि’ भनिन्छ । चन्द्रमालाई ‘मिला’ भनिन्छ । सकि (पिँडालु) खाने पूर्णिमा भएको कारणले आजको दिनलाई ‘सकिमिला’ पुन्हि भनिएको हो ।
त्यस्तै उपत्यकाका बौद्धमार्गीहरू आज बेलुकी बहाबही, चैत्य र अन्य देवीदेवताको मन्दिर अगाडि विभिन्न प्रकारका भुटेका अन्नहरूबाट आकर्षक चित्र बनाई भजन र पूजाआजा गर्ने गर्दछन् । यसमा खास गरी भुटेको गहुँ, मकै, भटमास, बदाम आदि जस्ता अन्नहरू प्रयोग गरिन्छ ।
त्यसरी बनाइएको कलात्मक चित्रलाई ‘हलिमलि’ भनिन्छ । यस्तो हलिमलि टोल टोलमै रहेका मन्दिर, चैत्य, बहालबही आदि जस्ता धार्मिकस्थलमा बनाउने गरिन्छ । यो हलिमलि बनाएर सजाउने कलाले काठमाडौं उपत्यकावासीहरूमा निहित उत्कृष्ट सौन्दर्यचेतको पनि प्रतिनिधित्व गर्दछ ।
यस्तो आकर्षक हलिमलि सजाएर मनाइने पूर्णिमा भएकोले आजको दिनलाई ‘हलिमलि पुन्हि’ पनि भनिन्छ ।
धार्मिकस्थलमा यस्तो हलिमलि बनाएर सजाइसकेपछि त्यसैको छेउमा बसेर दाफा बजाउने, भजन गर्ने कार्य गरिन्छ । यही बेला चैत्य, मन्दिर परिक्रमा हुने गरी तेलको बत्ती बाल्ने पनि गरिन्छ ।
भजन सकिएपछि चित्र बनाई सजाइएको हलिमलि बिगारी त्यसमा प्रयोग भएका सबै अन्नहरू प्रसादका रूपमा बाँडेर खाने गरिन्छ । हलिमलि सजाउँदा घर घरबाट फलफूल लगायत अन्य भुटेका गुडागुडी पनि ल्याउने गरिन्छ भने प्रसादमा त्यो पनि बाँड्ने गरिन्छ ।
यो दिन सक्खरखण्ड, पिँडालु, तरुल आदि जस्ता कन्दमूल उसिनेर खाने गरिन्छ । जाडो याममा जमिनमुनि फल्ने यी परिकारहरू खाएमा शरीरलाई न्यानो बनाउँछ ।
बौद्धमार्गीहरू आजैका दिन स्वयम्भू महाचैत्य स्थापना गरिएको विश्वास गर्दछन् । त्यसैले आज बेलुकी स्वयम्भू महाचैत्य सामू पनि हलिमलि प्रदर्शन गरी स्तोत्र पाठ गर्ने चलन छ ।
आज चोभारस्थित जल विनायक र थानकोटस्थित महालक्ष्मीको पनि जात्रा गरिन्छ ।
आजकै दिनदेखि कार्तिकस्नान पनि समापन हुन्छ ।