भूतपूर्व सैनिक सम्मेलन भोलिदेखि कोशी प्रदेशमा सुरु हुँदै
काठमाडौं, १३ मङ्सिर । नेपाली सेनाको आयोजनामा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन सोमबारदेखि कोशी प्रदेशबाट सुरु हुने भएको छ ।
नेपाली सेनाका प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार मङ्सिर १४ देखि २५ गतेसम्म कोशी र बागमती प्रदेशका २४ जिल्लाका २० स्थानमा सम्मेलन आयोजना हुनेछ । सम्मेलनमा करिब ५५ हजार भूतपूर्व सैनिक सहभागी हुने अनुमान गरिएको छ ।
यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेको छ ।
सम्मेलनमार्फत अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारको शिक्षा, स्वास्थ्य, स्वरोजगार र पुनःरोजगारका विषयमा छलफल गरिनेछ । साथै सैनिक कल्याणकारी कोषबाट प्रदान हुँदै आएका सेवा तथा सुविधाबारे जानकारी दिइनेछ ।
भूतपूर्व सैनिकबीच आपसी सम्बन्ध बलियो बनाउने, उनीहरूका समस्या, गुनासा र सुझाव संकलन गर्ने तथा कल्याणकारी कार्यक्रमलाई थप प्रभावकारी बनाउने सम्मेलनको उद्देश्य रहेको नेपाली सेनाले जनाएको छ ।
