गौरती भिमेश्वरमा हजारौँ हिन्दूधर्मालम्बीले मेला भर्दै

दिपेन्द्र श्रेष्ठ, मैत्री न्यूज

सिन्धुपाल्चोक, २२ कात्तिक । कात्तिक शुक्ल पूर्णिमाका दिन आज सिन्धुपाल्चोककाे गौरती भिमेश्वरमा भव्य मेला लागेकाे छ ।

साँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऎतिहासिक धार्मिक स्थल गौरती भिमेश्वर मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन श्रदालु भक्तजनहरूले मेला भर्दै आइरहेकाे छ ।

सिन्धुपाल्चोक जिल्लाकै ठुलो मानिने गौरती भिमेश्वरको मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

पौराणीक कालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राती–राती एउटा ढिस्कोमा दुध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ती प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकोले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात गाईले राती दुध चढाएको कारण गौरती हुन गएको मान्यता छ ।

भिमेश्वरको मन्दिरमा पूर्णिमाका दिन भक्तजनहरू रातभर जाग्राम बसी भिमशेनकाे आराधना गरि बत्ति बालिन्छ साथै मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बालिन्छ । मेला रातभरि नाचगान गरि भव्यताका साथ मनाइन्छ ।

मेलामा सदरमुकाम चौताराबाट भिमसेनको मूर्तीलाई रथमा तानेर पूणिमाको रात गौरती मन्दिरमा रहेको मूर्तीसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ। त्यसरी फर्काइने बेला गुठीयारको घरघरमा रथ लगि पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रा सहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ ।

धार्मिक आस्थाराख्ने भक्तजनहरुले यहाँको मन्दिरलाई दोलखा भीमसेन जतिकै शक्तिशाली मान्दछन् र मनले चिताएको पुरा हुने विश्वास गरिन्छ ।

मेलाको अवशरमा दर्शनार्थिहरुलाई मनोरंजन गराउन गाैरती युवा समुहले विविध साँस्कृतिक कार्यक्रम समेत गर्दै आएका छन् ।

मेला भर्न छिकेकी जिल्ला काठमाडाैं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चाेक, दाेलखा, रामेछाप, नुवाकाेट, धादिङलगाएतका स्थानबाट हज्जाराै दर्शनार्थिहरु आउने गरिएकाे छ । गौरती भिमेश्वर काठमाडाैंबाट ८२ किलाेकिटरकाे दुरीमा रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *