सार्वभौम सत्ता बराबरी हुने भएकाले कसैसँग पनि शिर नझुकाइ काम गरेँः ओली

काठमाडौँ, २७ कात्तिक । नकेपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आगामी मङ्सिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनका सिलसिलामा चुनावी सम्वोधन गर्न कर्णालीको कालिकोट पुग्नु भएको छ । उहाँले कालिकोटमा सम्वोधन गर्दै सार्वभौम सत्ता बराबरी हुने भएकाले कसैसँग पनि शिर नझुकाइ काम गरेको बताउनु भएको छ । उहाँले सम्वोधन कै क्रममा आगामी निर्वाचनबाट असाधारण महत्त्वको फैसला गर्नुपर्नेमा जोड दिनुभयो ।

‘बेला हाम्रो देश कता जाने यस मङ्सिर ४ गतेले फैसला गर्ने छ,’ उहाँले भन्नुभयो, ‘मङ्सिर ४ ले यस देशको राष्ट्रियता, यस देशको स्वाधीनता, यस देशको स्वतन्त्रता, यस देशको भौगोलिक अखण्डता र यस देशको राष्ट्रिय हितको रक्षा र सम्बर्द्धन सँगसँगै देशको गौरव र स्वाभिनमाथि उठाउने कि देशलाई पराधीनता तर्फ देशलाई लाने यो फैसला पनि गर्छ ।’ अध्यक्ष ओलीले फुटेका हाँडीका कप्टेरा जस्तो जोडेर सरकार बनाए झैँ गर्ने र देशलाई बरबाद पार्न कठपुतली सरकारका नाममा घुँडा टेकुवा नेतृत्व बनाएर देश बरबाद पार्ने तत्त्वको फैसला यस निर्वाचनले गर्ने पनि बताउनुभयो ।

उहाँले भारतसँग मात्रै निर्भर रहेको नेपाल देश चीनतिरबाट पनि बाटो खोलेर यातायात र पारवहन सम्झौता गरेपछि नाकाबन्दी लाग्नै नसक्ने अवस्थामा देशलाई पुर्‍याएपछि झन् आत्तिएको उहाँको आरोप छ । त्यसपछि देश आत्मनिर्भर र स्वतन्त्र ढंगले काम गर्ने अवस्थामा पुगेको दाबी गर्नुभयो । आजै उहाँले दैलेखको जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।