उम्मेदवारहरुको पक्ष विपक्षमा उभिने स्थानीय प्रशासनमाथि निर्वाचन आयोगले तत्काल कारबाही गर्ने
काठमाडौं, २८ कात्तिक । निर्वाचन आयोगले स्थानीय प्रशासन उम्मेदवारहरुको पक्ष/विपक्षमा उभिए तत्काल कारबाही गर्ने जनाएकाे छ ।
स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने जनाउँदै आयोगले त्यस्ता कर्मचारीलाई तत्काल कारबाही गर्ने चेतावनी दिएको हो ।
निर्वाचन आयोग र मातहतका कार्यालयले स्थानीय तहका कर्मचारीहरुको गतिविधिमा सुक्ष्म ढंगले निगरानी राखेको पनि जनाएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन हुन नदिने पनि बताएको छ । अबका तीन दिन दल वा त्यसका उम्मेदवारहरुले आचारसंहीता उल्लंघनको घटना बढाउन सक्ने आंकलन गरी आयोगले सोही अनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको जनाएको छ ।
निर्वाचन आयोगले गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको पनि जनाएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन आयोगले सबै खालका शक्ति परिचालन भएको आयोगको भनाइ छ ।