चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुको मृत्यु
चितवन, ३० कात्तिक । चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सबैभन्दा बढी चित्तल रहेका छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिङ्गे गैँडा मेरका छन् । एउटा गैँडाको प्राकृतिक कारणबाट र एउटा विद्युतीय करेन्टमा लागेर मृत्यु भएको छ ।
त्यसैगरी एउटा सरकारी घरपालुवा र एउटा निजी हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । प्राकृतिक कारणले मृत्यु हुने जनावरमा तीन अर्ना, एक चितुवा, तीन गौँरीगाई, दुई कछुवा, एक लगुना र तीन घडियाल गोही रहेको तिवारीले जानकारी दिनुभयो ।
त्यस्तै एउटा प्राकृतिक कारण र एउटा कुकुरको आक्रमणबाट दुई जरायोको मृत्यु भएको छ भने एउटा बँदेलको पनि मृत्यु भएको छ । निकुञ्जमा सबैभन्दा धेरै चित्तलको सङ्ख्या रहेको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।