खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा
खोटाङ, ३० कात्तिक । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ ।
एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको हाे ।
निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित सम्बन्धित मतदानस्थल पठाउने काम सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिनुभयो ।
दश स्थानीय तह रहेको जिल्लामा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । दुईवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिनुभयो ।
कर्मचारी र सुरक्षाकर्मीका लागि दिक्तेलस्थित जिल्ला समन्वय समिति कार्यालय तथा कैंदीका लागि मुडेस्थित जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिने मुख्य निर्वाचन अधिकृत गिरीले जानकारी दिनुभयो । कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ ।
निर्वाचनमा एक हजार पाँच सय ५८ जना कर्मचारी, जनपथ र म्यादी गरी एक हजार आठ सय ४६ प्रहरी र आवश्यकताको आधारमा नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार सात सय ९२ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।