कमलादी गणेशको नयाँ खट डा. शाक्यबाट हस्तान्तरण

काठमाडौं, ७ मंसिर । बागमती प्रदेशका पूर्व मन्त्री डा. अजयक्रान्ति शाक्यले काठमाडौंस्थित कमलादी गणेशको जात्रामा प्रयोग गर्न निर्माण गरिएको नयाँ खट हस्तान्तरण गर्नुभएको छ । हिजो मंगलवार कामपा २२ वडास्थित वटु टोलमा आयोजना गरिएको एक कार्यक्रमबीच कमलादी गणेश व्यवस्थापन सहयोग समाजलाई उक्त नयाँ खट हस्तान्तरण गरिएको हो ।

नयाँ निर्माण गरिएको खट वटु टोलका त्वाःनायः (अध्यक्ष) शान्तराज महर्जन र जात्राका थाकुलि मंगल महर्जनले ग्रहण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री डा. शाक्यले बागमती प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको बजेटबाट उक्त खट निर्माण गरिएको जानकारी दिनुभयो । आफू काठमाडौं क्षेत्र नं. ९ (१) बाट बागमती प्रदेशसभा सदस्यका लागि निर्वाचित भएदेखि नै यस क्षेत्रको मूर्त अमूर्त सम्पदा पुनर्निर्माण कार्यलाई अघि बढाएको बताउनुहुँदै उहाँले आफ्नो कार्यकालमा यस क्षेत्रको ९० प्रतिशत सम्पदा पुनर्निर्माण कार्य सम्पन्न भएको बताउनुभयो ।

यस अवधिमा विभिन्न वडाका ४८ वटा गुठी खलः एवं भजन मण्डलहरूलाई परम्परागत बाजा हस्तान्तरण गरिएको र अमूर्त सम्पदाहरुको व्यवस्थापनको लागिं आर्थिक सहयोग प्रदान गरिएको पनि उहाँले बताउनुभयो । यसै क्रममा कमलादी गणेशका लागि नयाँ खट निर्माण गरिएको बताउनुहुँदै उहाँले यस्तो पवित्र कार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा गुठीलाई धन्यवाद दिनुभयो ।

डा. शाक्यले आफू पदमा भए पनि नभए पनि यस क्षेत्रको जाति, भाषा, कला, संस्कृति सम्बद्र्धन तथा प्रवद्र्धन कार्यमा आफू निरन्तर लागिरहने बताउनुहुँदै यस कार्यको लागि कुनै सहयोग आवश्यक भए आफूले योगदान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

हरेक वर्ष वैशाख पूर्णिमाका दिन स्थानीय वटुवासीहरूले आयोजना गर्ने कमलादि गणेशको जात्रामा उक्त खट प्रयोग गरिन्छ । उक्त दिन कमलादी गणेशथानको सामुन्ने रहने चार देवताका मूर्तिहरू उक्त खटमा विराजमान गराई जात्रा चलाउने पम्परा रहँदै आएको छ ।

टोलका त्वाःनायः (अध्यक्ष) शान्तराज महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व राजदूत डा. अन्जान शाक्यको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा कमलादी गणेश सहयोग समाजका अध्यक्ष चिनकाजी महर्जनले स्वागत गर्नुभएको थियो भने सचिव राजन महर्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रम पश्चात सोही टोलमा नयाँ निर्माण गरिएको नासःद्यः अवलोकन गरिएको थियो ।