काठमाडौंमा भव्यपूर्वक मनाइयो ज्यापु दिवस
काठमाडौं, २२ मंसिर । आज योमरी पुन्हिको अवसरमा १९ औं ज्यापू दिवस भव्य रूपमा सम्पन्न भएको छ । यस उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
हरेक वर्ष काठमाडौंका ६४ वटा ज्यापू टोलले पालैपालो यो दिवस मनाउने चलन छ । यस क्रममा यस पटकको ज्यापू दिवस कामपा २१ वडास्थित गोफल टोलले आयोजना गरेको हो ।
आज गोफल टोलबाटै एक सांस्कृतिक र्याली आयोजना गरी नगर परिक्रमा गरिएको थियो । सोही सभा बसन्तपुरमा पुगी सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संस्कृति र सम्पदा जगेर्ना गर्ने कार्यमा ज्यापु जातिको विशेष योगदान गरेको बताउनुभयो ।
सभामा ज्यापु संस्कृति र नेवाः कला, संस्कृति सम्बद्र्धन गर्ने कार्य योगदान पुर्याउनुभएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।
ज्यापु संस्कृति विकास कोषको आयोजना र कोषकै अध्यक्ष मंगलकृष्ण सिंहको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्कृति मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह आदिले पनि सम्बोधन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा भारतको सिक्किम निवासी मणिकुमार प्रधान, आसाम निवासी पुष्पराज श्रेष्ठ र दार्जिलिङ निवासी सुर्जनारायण प्रधानलाई नेपाल बाहिर रहेर पनि नेवाः जाति, भाषा, कला, संस्कृतिको संरक्षणमा पुर्याउनुभएको योगदानको कदर गर्दै ज्यापु विशेष सम्मान प्रदान गरिएको थियो ।
ज्यापू दिवसका केही तस्बिरहरुः


