ब्राजिललाई हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

एजेन्सी, २३ मंसिर । फिफा विश्वकप फुटबल २०२२ अन्तरगत् ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको छ ।

कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा भएको आजकाे पहिलो क्वाटरफाइनल खेलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा ४-२ गोलन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो ।

ट्राइबेकरमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे । ब्राजिलका लागि भने क्यासिमेरो र पेड्रोले गोल गर्दा रोड्रिगो र मार्क्विवन्होस पेनाल्टीमा गोल गर्नबाट चुके ।

खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अत्तिरित्तल समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका नेयमारले गोल गर्दै पहिलो अग्रता लिएका थिए । खेलको ११७औं मिनेटमा क्रोएसियाका ब्रुनी पेट्कोभिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । क्रोएसियाकाे जितसँगै ब्राजिल प्रतियोगितबाट बाहिरिएको छ ।