देशभरकाे तापक्रम घट्याे चिसो बढ्दै, जुम्लाको माइनस डिग्री

काठमाडाैं, २६ मंसिर । देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ ।

जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको छ । काठमाडौँकै न्यूनतम तापक्रम घटेर ६ डिग्री सेल्सियस पुगेको छ । जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको महाशाखाले जनाएकाे छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन। सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंगलबार पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।