राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपाल निर्वाचित, पायो १७३ मत

काठमाडौँ, २८ असोज। नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले १८० मतमध्ये १७३ मत प्राप्त गरेको हो।

एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित राष्ट्रहरूमध्ये नेपालले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

निर्वाचनपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले वक्तव्य जारी गर्दै नेपालप्रति विश्वास र समर्थन व्यक्त गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रलाई आभार प्रकट गरेको छ।

‘बहुपक्षीयता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेको नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीप्रतिको नेपालको प्रतिबद्धतामा विश्वास र भरोसा व्यक्त गर्नुभएकामा हामी संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति हार्दिक आभार व्यक्त गर्दछौँ,’ नियोगले वक्तव्यमा भनेको छ।

नियोगले मानवअधिकार परिषद्को नयाँ कार्यकालका लागि निर्वाचित अन्य राष्ट्रहरूलाई पनि बधाई दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *