उदयपुरको बेलकामा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । उदयपुरको बेलका नगरपालिका–१ स्थित एक धानखेतमा वयस्क जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको छ। स्थानीयस्तरमा ‘सानो दारे’ नामले चिनिने अन्दाजी २० देखि २५ वर्षको सो हात्ती मङ्गलबार मृत भेटिएको हो।

डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठका अनुसार कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटरको दूरीमा रहेको धानखेतमा उक्त हात्ती मृत भेटिएको हो। मृत फेला परेको हात्ती पछिल्लो एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो।

कारण खुल्न बाँकी, आरक्षद्वारा पोस्टमार्टम गरिँदै

हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन कोशीटप्पु वन्यजन्तु आरक्षको प्राविधिक टोलीले आज (बुधवार) पोस्टमार्टम गर्ने डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ। आरक्षको सीमा क्षेत्र नजिकै घटना घटेकाले पोस्टमार्टमको सम्पूर्ण प्रक्रिया आरक्षको समन्वयमा हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *