याङवरक पोखरी खानेपानी योजना सम्पन्न : ३६५ जना लाभान्वित
८० भन्दा बढी लाभान्वित
काठमाडौँ, असोज २८ । पाँचथरको याङवरक गाउँपालिका ४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ८० भन्दा बढी घरधुरीका ३६५ जना स्थानीयवासी लाभान्वित भएका छन् ।
याङवरक पोखरीमा रहेको मुहानबाट जोरधारा, थर्पू बजारलगायत क्षेत्रमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले निर्माण गरिएको उक्त योजना गत असारमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । सङ्घीय सरकारको ७६ लाख ७५ हजार रुपियाँ विशेष अनुदानमा योजना निर्माण गरिएको हो ।
सम्पन्न योजनाको मङ्गलबार याङवरक गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले उद्घाटन गर्नुभयो । गाउँपालिकाको केन्द्र रहेको क्षेत्रमा खानेपानीको सहज व्यवस्था गरी स्थानीयवासीलाई आयआर्जनका गतिविधिमा संलग्न हुन तथा होटल व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने उद्देश्यले योजना कार्यान्वयन गरिएको अध्यक्ष योङ्याले बताउनुभयो ।
योजनाले स्थानीयवासीको दैनिक जीवन सहज बनाउनुका साथै व्यावसायिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । याङवरक–४ जोरधाराका सहरनन्द योङहाङले व्यवस्थित खानेपानी योजना सञ्चालनमा आएसँगै होटल व्यवसाय विस्तार गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाको केन्द्रसमेत रहेको यस क्षेत्रमा ऐतिहासिक याङवरक पोखरी, थर्पुनागी प्रहरी चौकी तथा स्थानीयवासीको बाक्लो आवतजावत हुने विभिन्न स्थान र निकाय रहेका छन् । खानेपानीको सहज उपलब्धताले स्थानीय बासिन्दासँगै बजार क्षेत्रमा सञ्चालन हुने व्यवसायलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।
