आजदेखि शुक्र अस्त हुँदै, के गर्न मिल्छ ? के गर्न मिल्दैन ?

काठमाडौँ । आज बुधबार दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछ। आगामी कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटमा शुक्र पूर्व दिशामा उदय हुने ज्योतिषीय गणना छ। यस अवधिमा बडादसैँ परे पनि देवीदेवताको पूजाआजा गर्न, टीका–जमरा लगाउन र दसैँका धार्मिक विधि पूरा गर्न बाधा नपर्ने बताइएको छ।

ज्योतिषशास्त्रीय मान्यताअनुसार सूर्यसँग १० डिग्रीभन्दा कम कोणीय दूरीमा पुगेपछि ग्रह अस्त हुन्छ। ग्रह अस्त हुँदा त्यसको प्रभाव कमजोर हुने विश्वास गरिन्छ। शुक्र ग्रहलाई धन, ज्ञान, धर्म, विवाह, प्रेम, विलासिता र शुभ कार्यको कारक मानिने भएकाले यसको अस्त अवधिमा नयाँ माङ्गलिक कार्य गर्न निषेध गरिएको शास्त्रीय मान्यता छ।

शुक्र र बृहस्पति अस्त हुनुभन्दा तीन दिनअघिदेखि सूतक लाग्ने तथा उदय भएको तीन दिनसम्म पनि शुभ कार्य गर्न नहुने मान्यता रहेको छ। तर, शुक्र अस्तको समयमा नियमित र विशेष परिस्थितिमा गरिने धार्मिक कर्ममा भने रोक नलाग्ने बताइएको छ।

शुक्र अस्त रहेको अवधिमा स्नान, सन्ध्या, पञ्चायन पूजा, चातुर्मास व्रत, तुलसी पूजा, श्राद्ध, तर्पण, मृतकको क्रियाकर्म तथा ग्रहणस्नानजस्ता कर्म गर्न सकिने शास्त्रीय मान्यता छ।

यस अवधिमा बडादसैँ पर्ने भएकाले नवदुर्गा पूजा, सप्तशती चण्डी पाठ, फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीका धार्मिक विधि सञ्चालन गर्न बाधा नपर्ने बताइएको छ। अष्टमीको बलिपूजा, हातहतियार पूजा, देवी विसर्जन तथा दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्नसमेत रोक नहुने उल्लेख छ।

शुक्र अस्तको अवधिमा नयाँ शुभ कार्यको थालनी गर्न भने शास्त्रले निषेध गरेको मानिन्छ। यस समयमा विवाह, व्रतबन्ध, कर्णवेध, गृहप्रवेश, घर निर्माणको शुभारम्भ, मन्दिर निर्माण, देवता स्थापना र प्राणप्रतिष्ठाजस्ता कार्य गर्न नहुने ज्योतिषीय मान्यता छ।

त्यस्तै, नयाँ तीर्थयात्रा, दीक्षा ग्रहण, सन्न्यास व्रत, अग्निहोत्र, राज्याभिषेक, समावर्तन तथा तुलादानजस्ता महादानका कार्य पनि यस अवधिमा वर्जित मानिन्छन्।

ज्योतिषशास्त्रमा शुक्रलाई सवारीसाधन र विलासिताको कारक ग्रहसमेत मानिने भएकाले यस अवधिमा नयाँ सवारीसाधन खरिद–बिक्री तथा विलासी सामग्रीसँग सम्बन्धित शुभ कार्य सकेसम्म नगर्न सुझाव दिइएको छ।

यसरी शुक्र अस्तको समयमा नयाँ माङ्गलिक कार्य नगर्ने परम्परा रहे पनि नवरात्र तथा दसैँका नियमित धार्मिक अनुष्ठान, देवीपूजा र विजयादशमीको टीका–जमरा ग्रहण गर्न बाधा नपर्ने शास्त्रीय मान्यता रहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *