विश्वकप फुटबलकाे फाइनल खेल आज, अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं, ३ पुस । फिफा विश्वकप फुटबल–२०२२ अन्तरगत आज आइतबार फाइनल खेल हुँदैछ।
खेल नेपाली समय अनुसार राति पौने ९ बजे कतारको अल दायनस्थित लुसैल स्टेडियममा सुरु हुनेछ भने खेलमा अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दैछन्।
क्रोएसियालाई हराएर अर्जेन्टिना र मोरक्कोलाई हराएर फ्रान्स फाइनलमा पुगेका हुन्। पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो। दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराएको थियो।
अर्जेन्टिनाले पाचौं पटक फाइनल खेल्दैछ। नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो।
फ्रान्स लगातार दोस्रो पटक विश्वकप च्याम्पियन बन्ने तयारीमा छ। अर्जेन्टिनालाई पराजित गर्न सके फ्रान्स ६० वर्षपछि लगातार विश्वकप उपाधि जित्ने पहिलो टोली बन्नेछ।
ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार दुई विश्वकप उपाधि जितेको थियो। १९६६ मा इङल्यान्डले जित्यो भने १९७० मा ब्राजिल तेस्रो पटक च्याम्पियन बन्यो।दफ्रान्सले २०१८ मा क्रोएसियालाई ४-२ ले हराउँदै दोस्रो पटक उपाधि जितेकाे थियाे ।