सप्तरीको राजविराजमा जगन्नाथ रथयात्रा सम्पन्न

सप्तरी, ३ पुस । शान्ति र मानव कल्याणको कामना गर्दै सप्तरीको राजविराजमा शनिबार जगन्नाथ रथयात्रा सम्पन्न भएको छ ।

राजविराज नगरपालिका ७ स्थित लक्ष्मीनारायण राधाकृष्ण मन्दिरमा तीन दिनको भजनकीर्तन र कथा वाचनपश्चात रथयात्रा निकालिएको हो ।

रथयात्रामा प्राचार्यका साथै श्रद्धालु–भक्तजनले भजनकीर्तन गर्दै नगर परिक्रमा गरेका थिए । राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रामा राखिएको भगवान् विष्णुको आठौँ अवतार मानिने श्रीकृष्ण, उनका दाजु बलभद्र र बहिनी शुभद्राको मूर्ति दर्शन गर्न र रथको डोरी तान्न श्रद्धालुहरूको भीड लागेको थियो ।

रथायात्राका लागि धरान र विराटनगरको एस्कोन, श्री राधा–कृष्ण भक्तिभावना अमृत सङ्घलगायत आध्यात्मिक संस्थाको सहकार्य रहेको थियो ।

रथयात्रामा सहभागीलाई राजविराजका स्थानीय व्यापारी एवं समाजसेवीले फलफूल, पानी र जुस वितरण गरेका थिए ।