सेतो र नीलो रंगको टीशर्टले ढाकिएको एशियाको रंगशालाबाट ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि

काठमाडौं,  ४ पुस । सेतो र नीलो रंगको टीशर्टले ढाकिएको कतारको खेल मैदानमा साबिक विजेता फ्रान्सलाई टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले लिओनेल मेसीको कप्तानीमा कतारमा जारी २२ औं विश्वकपको उपाधि जितेको छ । ३६ वर्षपछि अर्जेन्टिनाले यो विश्वकपको उपाधि उचालेको हो । विश्व कप फुटबलको फाइनल हेर्न कतारको रंगशालामा भेला भएका हजारौं अर्जेन्टिनी फुटबलप्रेमिहरुको मात्रै होइन मेस्सीको जादूमय खेललाई एकै पटक निहाली रहेको विश्वका धेरै जनसंख्यालाई खुशी बनाउँदै अर्जेन्टिनाले उपाधी उचालेको हो ।

कतारस्थित अर्जेन्टिनी राजदूतावासका अनुसार यो विश्व कपभरि करिब ३५ देखि ४० हजार अर्जेन्टिनी फुटबलप्रेमिहरु कतार पुगेका थिए । उनीहरुको मुहारमा एकै पटक खुशी छाउने गरी टाई ब्रेकरमा फ्रान्सलाई पराजित गर्न अर्जेन्टिना सफल भयो । आफ्नो टीमलाई समर्थन गर्न जति पनि अर्जेन्टिनीहरू कतार पुगेका छन्, उनीहरू आफू धनी भएर वा आफ्नो अकुत सम्पत्ति सकाउन उता गएका होइनन् । विश्व कपका बेला आफ्नो राष्ट्रिय टीमको समर्थन गर्न कतार जानुपर्छ भनेर उनीहरुले चार वर्ष अघिदेखि नै थोरै थोरै रकमको जोहो गर्न थालिसकेका थिए ।

होइन भने अहिलेको अहिल्यै कतार गएर जम्न सक्ने आर्थिक हैसियत कमै मात्र अर्जेन्टिनी नागरिकहरूसँग छ । यतिबेला अर्जेन्टिना आर्थिक रूपले यति जर्जर बनिसकेको छ कि शोंखका रूपमा कतार घुम्ने हैसियत अर्जेन्टिनीसँग छैन नै भन्दा हुन्छ । फुटबलमा जतिसुकै चम्के पनि आर्थिक रुपमा भने अर्जेन्टिना अहिले चरम संकटमा फसेको छ । आर्थिक रुपमा चरम संकटमा फसेको अर्जेन्टिनाको यो जितसँगै चाढे चार करोड जनताको मुहारमा पनि खुशी छाएको छ ।

आजको फाइन खेलमा निर्धारित समय २–२ र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा ४–२ को नतिजा निकाल्दै अर्जेन्टिनाले तेस्रो विश्वकप उपाधि उचाल्न सफल भयो ।

निर्धारित समयमा खेलको २३औं मिनेटमा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २० औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । त्यसलाई अर्जेन्टिनाका कप्तान मेस्सीले सुन्दर गोलमा परिणत गर्दै अर्जेन्टिनाले खेलमा अग्रता बढाएको थियो । डी मारियाले खेलको ३६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए । खेलको ८०औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याएका थिए । त्यसको एक मिनेट नबित्दै एम्बाप्पलेले बराबरी गोल फर्काएका थिए ।

खेलको १०८औं मिनेटमा मेसीले गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ११८औं मिनेटमा ह्याट्रिक पुरा गर्दै एम्बाप्पेले खेललाई ३–३ को स्थितिमा ल्याएका थिए ।

अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टि सुट आउटमा पुगेको थियो । फ्रान्सका लागि पहिला पेनाल्टी हान्न आएका एम्बाप्पेले गोल गरेपनि ओउरेलिन चुआमेनी र किङग्स्ले कोमानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रोकेका थिए । अर्जेन्टिनाका मेसी, आउलो डिबाला, लेन्ड्रो पारेडेस र गोन्जालो मोन्तेइलले गोल गर्दै उत्कृष्ट जित दिलाए ।