दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ, ३ मङ्सिर । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । मङ्सिर ८ गतेदेखि खेल सुरु हुने भए पनि औपचारिक उद्घाटन भने मङ्सिर १६ गते सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ ।
प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनएसहित ११ टोली सहभागी हुनेछन् । कुल ३२ खेलका ३८४ इभेन्ट्स समावेश प्रतियोगिता सात जिल्लामा सञ्चालन हुनेछ । सुर्खेतमा २३ खेल हुनेछन् भने अन्य खेल नेपालगञ्ज, बर्दिया, सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुममा आयोजना हुनेछन् ।
प्रतियोगितामा ३९४ महिला र ३४६ पुरुष गरी ७४० खेलाडी सहभागी हुनेछन् । पदक विजेतालाई व्यक्तिगततर्फ स्वर्ण, रजत र कास्य जित्नेले क्रमशः २० हजार, १५ हजार र आठ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
त्यस्तै, टोली स्पर्धातर्फ स्वर्ण विजेताले १५ हजार, रजतले १० हजार र कास्यले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता मङ्सिर २७ गते समापन हुनेछ ।
