एन्फामाथिको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध राखेपद्वारा फुकुवा

काठमाडौं, ३ मङ्सिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ ।

राखेपको कार्यकारी समितिले बिहीबार निर्णय गर्दै एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरेको हो ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षरसहित एन्फालाई पठाइएको पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार प्रतिबन्ध हटाइएको उल्लेख छ ।

एन्फाले गत चैत २३ गते आफूहरूमाथि लगाइएको निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्न राखेपसमक्ष अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा राखेपले प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

राखेपले आफ्नो निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, युवा तथा खेलकुद मन्त्रालयसहित अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराएको छ ।

प्रतिबन्ध फुकुवासँगै नेपाली फुटबलको नियामक निकाय एन्फालाई प्रशासनिक तथा आर्थिक गतिविधि सञ्चालन गर्ने बाटो खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *