नेप्सेमा सामान्य अंक बढ्यो, कारोबार रकम भने ओरालो लाग्याे

काठमाडाैं, ४ पुस । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेकाे छ । पछिल्लो केही दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन भने सामान्य बढेको हो।

यस दिन नेप्से परिसूचक १.१५ अंक बढेर १८५८.८९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१५ अंक बढेको छ।

यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब भन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५१ स्टकको ३० हजार ५४५ पटकको कारोबारमा ८८ करोड ६० लाख ९८ हजार रुपैयाँ बराबरको २६ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ४९ रुपैयाँ ६० पैसा बढेर ५४५ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन खप्तड लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने सिवाईसी लघुवित्तको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.९७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ६ करोड ९३ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.९५ प्रतिशत बढेको छ। अन्य उपसमूहको परिसूचकको वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *