सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
काठमाडौँ, ४ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ। अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से यस दिन ७.३८ अंकले घटेर २ हजार ६२१.२९ विन्दुमा झरेको हो।
यस दिन फ्लोट इन्डेक्स ०.३१ अंक घटेको छ भने सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स दुवै ०.०७ अंकले बढेका छन्।
नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ। बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३५२ कम्पनीका १ करोड ६ लाख २ हजार कित्ता सेयर ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएको छ। दिनभर ३९ हजार ९६६ पटक कारोबार भएको थियो।
यस दिन दोल्ती पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ५.१४ प्रतिशत बढेको छ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको मूल्य पनि ४ प्रतिशतभन्दा बढीले बढेको छ। अर्कोतर्फ मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाईमूल्य सर्वाधिक ८.५० प्रतिशत घटेको छ भने पाल्पा सिमेन्ट इन्डस्ट्रीजको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २० करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको करिब १५ करोड र रिलायन्स स्पिनिङ मिल्सको ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ र म्युचुअल फण्डसहित दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूह घटेका छन्। होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.३९ प्रतिशतले घटेको छ।
