विद्यालयमै च्याउखेती, पढ्दै प्राविधिकसंगै कमाउँदै बालबालिका

उदयपुर, ५ पुस । उदयपुरको कटारी नगरपालिका–४ स्थित त्रिवेणी माविका कृषि प्राविधिकका कक्षा ११ का विद्यार्थीले च्याउखेतीबाट आम्दानी लिन थालेका छन् ।

विद्यार्थीहरुले च्याउखेतीबाट आम्दानी लिँदा यस क्षेत्रको च्याउ पारखीहरूलाई ताजा च्याउको स्वाद पनि मिलेको छ । कक्षा ११ को सैद्धान्तिक अध्ययनसँगै विद्यार्थीले अभ्यास गरी च्याउखेती गरेका हुन् ।

“किताब पढ्नेमात्रै होइन यसलाई व्यवहारमा उतार्नका लागि खेती गरेका हौँ”, छात्र विवश लामिछाने भन्नुहुन्छ, “भविष्यमा यही खेतीबाट आम्दानी गरेर जीविकोपार्जन पनि गर्न सकिन्छ ।” २२ विद्यार्थीले रु ८० हजारको लागतमा सुरु गरेको च्याउखेतीबाट पहिलोपटकमै रु ४० हजार आम्दानी लिइसकेका छन् ।

दुई टनेलमा गरिएको खेतीबाट चार पटकसम्म च्याउ उत्पादन निकाल्ने तयारी विद्यार्थीको छ । पढाइसँगै सीप र आम्दानीबाट पढाइका लागि च्याउखेती गर्दै आएका विद्यार्थी बताउँछन् । “यसको आम्दानीले विद्यालयमा लाग्ने खर्चमा खर्च गर्छौँ”, छात्र सन्देश भण्डारीले भन्नुभयो–“पढाइसँगै सीप पनि सिक्छौँ र पढ्न खर्च पनि बनाउँछौँ ।” भविष्यमा च्याउखेतीबाट पनि आम्दानी लिन सकिने उद्देश्यले कक्षाबाट बचेको समयमा च्याउखेती गरिरहेको छात्रा कल्पना भण्डारीले बताउनुभयो ।

कटारीमा च्याउको मागअनुसार उत्पादन नभएको पाइएपछि च्याउखेती गरिएको विद्यार्थीको भनाइ छ । विद्यार्थीलाई सुरुमा लगानी विद्यालयले नै गर्ने गरेको छ । विद्यालयको लगानीबाट नाफा निस्किएको रकम विद्यार्थीले नै बाँडेर पढाइलगायत अन्य खर्च गर्न सक्नेछन् ।

विद्यार्थीलाई अध्ययनसँगसँगै अभ्यास पनि हुने भएकाले प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्की बताउनुहुन्छ ।

उनीहरूले उत्पादन गरेको च्याउ विद्यालयमै बिक्री हुने गरेको छ । च्याउको माग बढ्दै गएको उनीहरू बताउँछन् । यस विद्यालयका विद्यार्थीले यसअघि गएको तिहारमा सयपत्री फूलखेती गरेर पनि राम्रो आम्दानी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *