हुप्सेकोटका किसान काँक्रो खेतीबाट मनग्य आम्दानी गदै

नवलपरासी, ५ पुस । नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान काँक्रो खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । हुप्सेकोटका किसानलाई अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै भ्याइनभ्याई भएकाे छ ।

व्यवसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिक्नुभएका ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गर्नुभएको छ । रु १२ हजारको लगानीमा दुई वर्षअघि काँक्रोखेती सुरु गर्नुभएका उहाँले पहिलो वर्ष खर्च कटाएर रु ६७ हजार आम्दानी गरेको बताउनुभयो ।

“एक बाली धान लगाएर काँक्रो लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रोमात्रै लगाउने गरेका छाैं”, किसान रानाले भन्नुभयो ।

कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा १ मा किसान काँक्रो नलगाउने कमै मात्र भेटिन्छन् । आम्दानीको स्रोत कृषि भए पनि व्यावसायिकरूपमा आम्दानी लिन नसकेका किसान अहिले काँक्रोखेतीमा आकर्षित हुँदै आएका छन् । वर्षमा तीन बालीसम्म यहाँका किसानले काँक्रोखेती लगाउँदै आएका छन् ।

धान बालीमात्रै लगाउँदै आउनुभएका दिलमाया परियारले काँक्रोबाट मनग्ने आम्दानी गर्न सकिने थाहा पाएपछि चार वर्षदेखि व्यावसायिकरूपमा काँक्रोखेती लगाउँदै आउनुभएको छ । परियार भन्नुहुन्छ, यसरी गाउँमै आम्दानी लिन सकिने सोचाइ पहिल्यै आएको भए श्रीमान्लाई विदेश पठाउनुपर्ने थिएन, मेहेनत गर्ने हो भने विदेशमा भन्दा स्वदेशमा राम्रो आम्दानी गर्न सकिने रहेछ ।

यस क्षेत्रमा १५ कठ्ठामा काँक्रो लगाएका किसानले खर्च कटाएर वर्षमा रु छ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँ उत्पादित काँक्रो व्यपारीले खरिद गरी काठामाडाैं पठाउने गर्दछन् । किसान र व्यापारीबीच बिचौलिया नभए अझै राम्रो आम्दानी गर्न सकिने किसान बताउँछन् ।

हुप्सेकोट गाउँपालिकाको वडा नं १, ३ र ४ वडामा काँक्रोखेती हुँदै आएको छ । यहाँको करिब दुई सय बिघा क्षेत्रफलमा समूह र व्यक्तिगत गरी किसानले काँक्रोखेती लगाउँदै आएका छन् । समूह र व्यवसाय दर्ता गरी काँक्रोखेती लगाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, प्याकेजिक प्लास्टिक, तौल काटा, डोरीलगायतका सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।