आफ्नै घरमा आगो लगाउँदा १५ लाख बढीको क्षति

सर्लाही,५ पुस । कसैले आफ्नै घरमा आगो लगाउँछ भन्ने प्रश्न गर्यो भने मान्छे हाँस्न सक्छन् । आफूले दु:ख गरेर बनाएको घर सम्पती कसैले नष्ट गर्दैन, तर कतिपय अवस्थामा मानिसले आफूले जोडेको सम्पती नष्ट गर्नपनि पछि पर्दैनन् ।

हो, त्यस्तै अवस्था सर्लाहीमा सिर्जना भएको छ । सर्लाहीका एक युवाले आफ्नै घरमा आगो लगाएका छन् । सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका एक युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ ।

जिल्लाको मध्यभागमा पर्ने हरिपुर २ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए ।

आगोलागीमा इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिनुभयो ।

आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको उहाँले बताउनुभयो । आगलगीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताउनुभयो ।

स्थानीय प्रहरी र हरिवन नगरपालिकाबाट प्राप्त दमकलको सहायताले आगोलागी नियन्त्रण भएको छ ।