माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न चटारो

सर्लाही, ५ पुस । सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ । जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका क्षेत्रमा व्यावसायिकरूपमा तरुल खेती हुने गरेको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै किसानलाई चटारो बढेको हो । ती क्षेत्रका किसानले तरुल बिक्रीबाट बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् ।

बागमती नगरपालिका ५ राजघाट टेकानीका जगतबहादुर खुलाल मगरले यस वर्ष करिब एक बिघा क्षेत्रफलमा तरुल खेती लगाउनुभएको छ । उहाँले गत वर्ष करिब तीन लाख ५० हजारको तरुल बिक्री गर्नुभएको थियो । अन्य खेतीका तुलनामा तरुल खेतीमा मेहेनत र खर्च कम फाइदा बढी हुने भएकाले १५ वर्षदेखि खेती गर्दै आएको उहाँले बताउनु भयो ।

यस वर्ष खेतबाटै व्यापारीले प्रतिकिलो एक सय १० मा तरुल खरिद गरेको बागमती ६ का किसान यमकुमार मगरले बताउनुभयो । उहाँका अनुसार तरुल लिन व्यापारी किसानका खेतमै पुगेका छन् । लामो समयदेखि तरुल खेती गर्दै आउनुभएका यामकुमारले यस वर्ष करिब १६ कट्ठा जमिनमा तरुल खेती गर्नुभएको छ ।
उहाँले व्यापारीलाई प्रतिकिलो रु एक सय १० का दरले खेतैमा र काठमाडौँ पु¥याएर प्रतिकिलो रु दुई सय २० मा तरुल बेच्नुभएको छ । खर्च कटाएर कट्ठाको रु करिब एक लाख आम्दानी भएको उहाँले बताउनुभयो । तरुल खेतीबाट भएको आम्दानीले छोराछोरी पढाउने र घरव्यवहार चलाउन पुगेको उहाँको भनाइ छ ।

यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौँलगायत देशका मुख्य ठूला सहरबाट अत्यधिक माग आइरहेको बागमती ८ का व्यापारी नुनुबाबु पण्डितले जानकारी दिनुभयो । यस क्षेत्रका किसानले पताले, झुसे, जाँते र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । तरुल खेती गर्न बलौटे तथा दोमट माटो उपयुक्त हुने किसानको भनाइ छ । बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गरेर प्रतिकट्ठा करिब रु छ हजार लगानी हुने अर्का किसान रामबहादुर मगरले बताउनुभयो ।

यस्तो छ तरुलको मूल्य

जिल्लाका किसानले तरुलको राम्रो मूल्य पाएका छन् । राम्रो मूल्य पाएपछि तरुल किसान पनि दङ्ग परेका छन् । विगत वर्षको भन्दा तरुलले दुई गुणा बढी मूल्य पाएपछि यसपटक आम्दानी पनि मनग्य हुनेमा यस क्षेत्रका तरुल किसान ढुक्क छन् ।

जिल्लाको बागमती नगरपालिकास्थित राजघाटका तरुल किसान बलराम उप्रेती तरुलको मूल्य राम्रो पाएको जानकारी दिनुभयो । यसपटक माघे सङ्क्रान्ति नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको तरुल प्रतिकिलो रु एक सयदेखि एक सय ६० सम्म खेतैमा पाएको अर्का तरुल उत्पादक किसान राजलाल महतोले बताउनुभयो । “पोहोर साल ६०–७० प्रतिकिलो थियो”, उहाँले भन्नुभयो, “यसपटक राम्रो भाउ पाएका छौँ । राम्रै फाइदा हुन्छ होला ।” सङ्क्रान्तिको लागि भन्दै तरुल खरिद गर्न किसानका बारी–बारीमै व्यापारी पुग्ने गरेका छन् ।