नेप्से परिसूचक १४.२२ अंकले बृद्धी , कारोबार रकममा पनि सुधार

काठमाडाैं,५ पुस । मंगलबार नेप्से परिसूचक १४.२२ अंकले बृद्धी भएको छ। यस दिन नेप्से परिसूचक १४.२२ अंक अर्थात ०.७६ प्रतिशत बढेर १८७३.११ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.६८ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ८८ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २५७ स्टकको २३ हजार ३४४ पटकको कारोबारमा ९३ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको ३० लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन होटल तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक २.३१ प्रतिशत बढेको छ।

मंगलबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त वित्तीय संस्था, श्रृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

श्रृजनशील लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको पाँचाैं कारोबार दिनपछि खरिदबिक्री भएको हो। त्यसैगरी, सिवाईसी लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ।