आहा ! रारा पोखरा गोल्डकप पुसकाे दोस्रो सातादेखि
कास्की, ६ पुस । आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले रु १२ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने घछन् भने उपविजेताले रु छ लाख प्राप्त गर्ने छन् ।
गत वर्षको तुलनामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख पुरस्कार वृद्धि गरिएको आयोजक सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो । यसअघि पुस १२ देखि २३ सम्म प्रतियोगिता सञ्चालन गर्ने भनी एन्फाबाट समयतालिका प्राप्त भएकामा पोखरामा हुने १३ गतेको मैत्रीपूर्ण खेलका कारण दुई दिनपछि प्रतियोगिता सरेको हो ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लबहरू नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाइएससी, मच्छिन्द्र फुटबल क्लब, नेपाल प्रहरी फुटबल क्लब, सङ्कटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिनेछन् ।
विसं २०५८ मा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औँ संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीका लागि खर्च गरिँदै आएको छ ।
सो एकेडेमीमा हाल तेस्रो व्याचको १३ बालक आश्रित रहेकाे सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङले बताउनुभयो । प्रतियोगिताका लागि सहारा क्लब हङकङले रु तीन लाख सहयोग उपलब्ध गराउने छ ।
प्रतियोगिताबाट आम्दानी रु एक करोड ५९ लाख ५० हजार र खर्च रु एक करोड १३ लाख ५६ हजार हुने अनुमान गरिएको छ ।
