तनहुँमा बन्दीपुर केबलकारको काम अन्तिम चरणमा

तनहुँ, ७ पुस । तनहुँको बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो ।

पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार केबलकारको टावरको काम सकिएको छ ।

“इन्जिन जडानको काम सकेर लठ्ठाको काम सुरु गर्छौँ, त्यसपछि बाक्सा जडान गरिनेछ”, शर्माले भन्नुभयो, “फागुनसम्म परीक्षण गरेर वैशाखदेखि व्यावसायिक हिसाबले सञ्चालनको लक्ष्य राखेका छौँ ।”

विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ भए पनि अब काम नरोकिने शर्मा बताउनुहुन्छ ।

आगामी वर्षको मङ्सिरभित्र पाँचतारे होटल र माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आगामी जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी र स्काइवाक तथा असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माणकार्य पनि तीव्रगतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहितको हुनेछ ।

केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको जनाइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ । दश तलाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठा हुनेछन् ।

बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।