नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ देखि भन्सार नतिरेका मोबाइल दर्ता नगर्ने

काठमाडाैं, ९ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गतेदेखि भन्सारमा नतिरेका मोबाइल दर्ता नगर्ने भएकाे छ ।

प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन १५ गतेदेखि यस्ताे नियम लागु गर्न लागेकाे हाे । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान गरेको छ ।

मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ / ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागु गरेको थियो ।

प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पौष १५ गते देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापन पत्र सहित राहदानी/नागरिकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdms.nta.gov.np मा गई दर्ता गर्न अनुरोध गरिन्छ।