९ बजे गठबन्धनको निर्णायक बैठकमा सहमति नजुटे आजैबाट एमालेको ‘मुभ’ र नयाँ प्रक्रिया सुरु हुने

काठमाडौँ, पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आज अपराह्न ५ बजेसम्मको समय दिनुभएको थियो ।

त्यो समयसीमा सकिन केही घण्टा मात्रै बाँकी रहँदा पनि अझैसम्म प्रधानमन्त्रीको टुंगो लागेको छैन । सबै भन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन मात्रै पनि सरकार गठनको गणितमा कठिन भैरहेका बेला तेस्रो ठूलो दल माओवादी केन्द्रले प्रधानमन्त्री पद आफूले नपाए गठबन्धन नै टुटाउने धम्की दिएपछि राष्ट्रपतिले दिएको समयसिमा भित्र नयाँ सरकार गठनमा सकस हुँदै गएको छ ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै पनि दलको बहुमत नभएको हुँदा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्री नियुक्तिको लागि राष्ट्रपति समक्ष दाबी गर्न आज अपराह्न ५ बजेसम्मको समय दिइएको पुस ३ गते राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तर, शनिवार बेलुकासम्मको अवस्थालाई हेर्ने हो भने पनि गठबन्धनबाट सरकार गठनमा सकस देखिएको छ । माओवादीले आफू प्रधानमन्त्री नबन्ने अवस्थामा गठबन्धन तोड्ने धम्की दिइरहेका बेला कांग्रेसले पनि प्रधानमन्त्री नछाड्ने अडान यथावत राखेको छ । तीन दल कांग्रेस, माओवादी र नेकपा समाजवादीले पाँच वर्षे कार्यकालमा दुई दलले २–२ वर्ष र बाँकी एक वर्ष माधवकुमार नेपालले सरकारको नेतृत्व गर्ने मोटामोटी सहमति गरे पनि पहिलो कार्यकालका लागि कस्ले गर्ने भन्ने गाँठो फुकाउन मुस्किल परेको छ ।

अध्यक्ष प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भेटपछि देउवालाई भेट्नु भएका उपमहासचिव वर्षमान पुनले समेत देउवा डेढ वर्ष प्रधानमन्त्री भइसकेकाले अब प्रचण्डलाई सहयोग आग्रह गर्दै नगरे गठबन्धन छाडिदिने चेतावनी लिएको बुझिएको छ । केही दिन अघि मात्रै चीनबाट उपचार गरेर फर्किनु भएको पुन गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने मुडमा रहनु भएको छ । प्रचण्डका विश्वास पात्र पुनको पछिल्लो दौडधुपले पनि त्यो संकेत गरेछ । यद्यपि आज पुन ९ बजे गठबन्धनको निर्णायक बैठक बोलाइएको छ । ९ बजेको बैठकमा पनि सहमति हुन नसके गठबन्धन नरहने निश्चित जस्तै छ ।