मकवानपुरमा गोलभेँडा बिक्रीबाट छ महिनामा रु तीन करोड आम्दानी

मकवानपुर, १० पुस । मकवानपुरका किसानले गाेलभेँडा खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।

मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडा लगायत अन्य तरकारी खेती गर्न थालेपछि मनग्य आम्दानी लिएका हुन् । कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई नै तरकारी खेतीबाट आत्मनिर्भर बनाउनेतर्फ लागेको देखिन्छ ।

उनीहरुले विगत छ महिनामा रु तीन लाखभन्दा बढीको गोलभेँडा बिक्री गरेको सो गाउँपालिकाले जनाएको छ । अहिले दैनिकरूपमा मकवानपुरगढीमा उत्पादन भएको गोलभेँडा हेटौँडालगायतका अन्य बजारमा बिक्री भइरहको छ ।

गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले सो गाउँपालिकामा एक सय जना किसानले एक सय हेक्टर जमिनमा गोलभेँडा खेती गरी उक्त आम्दानी लिएको जानकारी दिनुभयो । गाउँपालिकाले तरकारी खेतीका लागि अनुदानसमेत सञ्चालन गरेको बताइएको छ ।

उहाँले कृषि उत्पादनबाट किसानलाई आत्मनिर्भर बनाउन टनेल कृषि कार्यक्रमसमेत सञ्चालन गरेको बताउनुभयो । गाउँपालिकामा चार सय ५० हेक्टर क्षेत्रफलमा हुने तरकारी खेतीबाट वार्षिक छ हजार पाँच सय मेट्रिक टन विभिन्न किसिमका तरकारी उत्पादन हुने गरेको बताइएको छ ।

किसानले अहिले दैनिक रु तीनदेखि पाँच लाखसम्मको गोलभेँडा बिक्रीका लागि हेटौँडा बजारलगायतको अन्य बजारमा समेत बिक्रीका लागि पठाउने गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले टनेल निर्माणका लागि किसानलाई निःशुल्क प्लाष्टिक, तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *