तनहुँमा फल्याे २८ करोडको सुन्तला

तनहुँ, १७ पुस । तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक हजार चार सय ८० हेक्टरबाट नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको तिवारीले बताउनुभयो ।

अघिल्लो वर्ष २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यसवर्ष एक हजार चार सय ६० हेक्टर क्षेत्रफलबाट नौ हजार तीन सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका ठाउँमा बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौँडा, खैरेनीटार, भीमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका २ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका ११ तनहुँसुर, वडा नं १३ को बेनीकोट, देवघाट गाउँपालिका २, ३ र ४, आँबुखैरेनी गाउँपालिका २ पतेनी, शुक्लागण्डकी नगरपालिका ११ राइपुर, भीमाद नगरपालिका ९ भानुमतिलगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

म्याग्दे २ उमाचोकका सुकनारायण श्रेष्ठ, विश्वबहादुर अधिकारी, निर्मल अधिकारी, रामबहादुर अधिकारी लगायतले वार्षिक लाखौँ मूल्य बराबरका सुन्तला बिक्री गर्दै आउनुभएको छ । देवघाटा ३ छिपछिपेका भीम रानाले यसवर्ष ३२ लाख बराबरको सुन्तला बिक्री गर्नुभएको छ । व्यास १३ बेनीकोटका विकास थापाले यसवर्ष आठ लाखको सुन्तला बिक्री गर्नुभएको छ ।

आँबुखैरेनी २ मार्कीचोकका सोलबहादुर चितौरेले यसवर्ष तीन लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ ।