मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि निगमले राख्याे यथावत्
काठमाडाैं, १७ पुस । इन्डियन आयल कर्पोरेसनले स्वचालित मूल्य प्रणालीअनुसार मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ ।
नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट आज प्राप्त मूल्यसूचीबमोजिम पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५४ पैसा, डिजेलमा दुई रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा चार रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ । मट्टितेलको मूल्य भने केही घटेर आएको निगमले जनाएको छ ।
अहिले आयल निगमलाई हाल खाना पकाउने ग्यासमा तीन सय ५९ रुपैयाँ ५० पैसा घाटा रहेको छ । ग्यासमा मात्रै १५ दिनमा रु ४६ करोड ४४ लाख बराबर घाटा हुने निगमको अनुमान छ । तर पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलको बिक्रीबाट हुने नाफालाई गणना गर्दा समग्रमा निगमलाई १५ दिनमा अनुमानित रु ९९ करोड बराबर नाफा हुने जनाएको छ ।
यसअघि निगमले पुस १ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७८, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७५ रहेको छ ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय ९० र बाह्यतर्फ एक दशमलव ६४ अमेरिकी डलर रहेको छ । त्यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार आठ सय रहेको छ ।