फिल्म अन्तिम संस्कार भावनात्मक रुपले विशेष छ : विजय लामा

काठमाडौं, १९ पुस । कलाकार तथा पाइलट विजय लामाले फिल्म अन्तिम संस्कार भावनात्मक रुपले विशेष भएको बताएका छन् । उनले फिल्म हेर्न लायक र उत्कृष्ट भएको दाबी गरे ।

‘कलाकार भएपछि केही फरक गर्नुपर्छ । केही चुनौती मोल्न सक्नुपर्छ’ उनले भने, ‘यो खालको फिल्ममा काम गर्न जो–कोही नेपाली कलाकारले आँट गर्न सक्दैनन् ।’ निर्माताले पनि ठूलो चुनौती मोलेर फिल्म निर्माण गरेको उनले सुनाए ।

‘अन्तिम संस्कार’ लाई लण्डनमा फिल्म मेकिङ पढेर आएका प्रदीप शाहीले निर्देशन गरेका हुन् । निर्देशकको केही समयको रिसर्च, कलाकारहरुको वर्कशप पश्चात मात्रै फिल्म बनाएका हुन् ।

हिमालपारीको जिल्ला मुस्ताङमा माइनस डिग्री सेल्सीयसमा छायाँकन भएको फिल्म लामाले आफूले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा साइन गरेका थिए । सोही कारण आफ्नो लागि यस फिल्म भावनात्मक हिसाबले पनि विशेष रहेको उनको भनाइ छ ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको फिल्ममा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ, विनोद सुवेदी लगायतको निर्माण रहेको छ ।

फिल्ममा विजयका अलावा दिया पुन, एवन राज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्ण भक्त महर्जन लगायतको मुख्य अभिनय रहेको छ ।