नेप्से २१ सय भन्दा माथी, कारोबार रकम सामान्य बढ्याे

काठमाडाैं, २० पुस । मंगलबार नेप्से २१ सय विन्दुभन्दा माथि पुगेको छ। यस दिन नेप्से ६४.८७ अंक बढेर २१२५.९४ विन्दुमा पुगेको हाे । यस दिन सेन्सेटिभ इण्डेक्स १४.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.२८ अंक बढेको छ।

यस दिन कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ४५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५८ स्टकको ५७ हजार ३१२ पटकको कारोबारमा ३ अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको ८७ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्से बढेसँगै यस दिन दुई दर्जनभन्दा बढी स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, खप्तड लघुवित्त, कालिका पावर, आरएसडिसी लघुवित्त, बाराही हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, आशा लघुवित्त लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, १६ स्टकको मूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन १५ स्टकको मूल्य घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ५२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशत बढेको छ।