म्याग्दीको नारच्याङमा अझै लोकप्रिय छ पानीघट्ट

म्याग्दी, २१ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङमा अझै लोकप्रिय बनेकाे छ पानीघट्ट ।

नारच्याङ बेंसी गाउँकी चित्रमायाँ पुर्जालाई बिहानदेखि बेलुकीसम्म पानीघट्टमा भ्याईनभ्याई हुन्छ । गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानी उपयोग गरी पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका हुन् ।

कुटानी पिसानीका लागि गाउँमा विद्युत्बाट सञ्चालन हुने मिल पनि छन् तर पानी घट्टमा पिसेको पिठो स्वादिलो हुने भएकाले स्थानीयबासी घट्टमै पिठो पिस्न लैजाने गर्छन् । स्थानीयस्तरमा उत्पादन हुने कोदो, मकै, फापरलगायत अन्न पिस्न स्थानीयवासीले पानीघट्ट नै प्रयोग गर्दै आएका हुन् ।

नारच्याङमा चित्रमायाँ र केशनारायण बुद्धजाका परिवारले दुई वटा पानी घट्ट सञ्चालन गरेका छन् । दुबै परिवारको प्रमुख आयस्रोत पानी घट्टबाट हुने आम्दानी नै हो ।

‘‘गाउँमा जग्गाजमिन धेरै हुनेले खेती गर्छन्, हामीले बिहानदेखि बेलुकासम्म घट्ट चलाउँछौँ, प्रतिपाथि पिसेको अन्नको ज्यालावापत एक माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ’’–चित्रमायाँले भन्नुभयो ।

परम्परागत रुपमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकीे प्रयोग हुने गथ्र्यो । पुर्खाहरुले प्रयोग गरेको पानी घट्टले पिसेको पिठो नै स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरुले पनि यसलाई निरन्तरता दिएको अर्का पानीघट्ट सञ्चालक बुद्धुजाले बताउनुभयो ।

पानीबाट चल्ने घट्ट बिजुलीको सुविधा पुगेका ठाउँहरूमा विस्थापित हुने क्रम बढ्दो छ । पिस्न छिटो हुने भएकाले विजुलीबाट चल्ने मिलको प्रयोग बढिरहेको अवस्थामा जलविद्युत् गाउँको रुपमा परिचित नारच्याङमा भने अझै पनि पानीघट्टप्रतिको आकर्षण घटेको छैन् ।

उक्त गाउँमा पाँच मेगावाटको घलेम्दीखोला र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण भैसकेका छन् । विद्युत् उत्पादनका लागि आधा दर्जन बढी आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेको यस वडामा अन्न पिसानीमा भने पानीघट्टकै प्रयोग बढ्दो छ ।

भ्यू–पइन्टमा उक्लने बाटैमा रहेको सो पानीघट्ट र झरनाको अवलोकनका लागि जाने पर्यटकका लागि आकर्षणको विषय बनेको त्यहाँका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

करिब दुई दशक अघिसम्म नारच्याङको लेकगाउँमा पाँच वटा, बेंशीमा चार वटा र घरापमा तीन वटा पानी घट्ट सञ्चालनमा थिए । बिजुलीको सुविधासँंगै पानीघट्ट विस्थापित भएको अवस्थामा पुनः दुई वटा नयाँ पानीघट्ट सञ्चालनमा आएपछि राहत भएको स्थानीयवासीको भनाइ छ ।