जाडो यामको चिसोबाट बच्न काठमाडौंको मखंबहालमा उखु पड्काउने पर्व
काठमाडौं, २४ पुस । पुस–माघ जाडोकै मौसम हो । काठमाडौंमा यतिबेला जिउ कठाङ्ग्रिने खालको चिसो चलिरहेको हुन्छ । यस्तो चिसोले मानिसलाई विरामी बनाउँछ । हेलचेक्राइ गरे ज्यान पनि जान सक्छ ।
यस्तो ज्यानै जान सक्ने चिसोबाट बच्न काठमाडौंमा विभिन्न प्रकारका पर्वहरू मनाउने गरिएको पाइन्छ । उसो त काठमाडौं उपत्यकामा मनाइने विभिन्न प्रकारका चाडपर्वहरु मौसम अनुकुल नै रहेका हुन्छन् । जाडो यामको चिसो र त्यसबाट ल्याउनसक्ने अनेक विमारीहरूबाट बच्न काठमाडौंमा मनाइने विभिन्न पर्वहरू मध्ये एउटा विशिष्ट पर्व हो– ‘तु मुइकेगु’ पर्व । अर्थात् उखु पड्काउने पर्व ।
उखुलाई स्थानीय नेपालभाषामा ‘तु’ भनिन्छ । दनदनी बलेको आगोमा उखु पोल्ने र त्यसलाई भुइँमा पिटेर पड्काउने यो पर्वको विशेषता हो । पोलिएको उखु भुइँमा पछार्दा बम पड्किए जस्तो आवाज निक्लिने गर्छ । त्यसरी पड्काएपछि छुट्टिएका उखुका टुक्राहरू सेतो भटमाससँग खाने गरिन्छ ।
स्थानीय संस्कृतिप्रेमि सुजनविलास वज्राचार्यका अनुसार उखु आफै पनि जिउलाई अत्यावश्यक तातो प्रदान गर्ने खाद्य वस्तु हो । त्यसमाथि यसलाई पोलेर खाँदा जिउलाई अत्यन्तै तातो बनाउँछ र चिसो लाग्नबाट बचाउँछ ।
स्मरणीय छ, माघे संक्रान्तिका दिन खाइने चाकु पनि उखुबाटै बनाइन्छ । चाकुलाई पनि जिउलाई तातो बनाउने खाद्य पदार्थको रुपमा लिने गरिन्छ । त्यसैले काठमाडौंमा माघे संक्रान्तिलाई ‘घ्यः चाक संल्हू’ नामक छुट्टै पर्वका रूपमा मनाउने गरिन्छ ।
काठमाडौंमा उखु पड्काउने यो पर्व भने स्थानीय मखन टोलस्थित मखंबहालमा मात्रै मनाउने गरिन्छ । काठमाडौंकै अन्य केही बहालहरूमा कतै दनदनी बलेको आगोमा अमला पोल्ने र कतै मुला पोल्ने पनि गरिन्छ । मखंबहालमा भने उखु पड्काउने परम्परा छ ।
पूर्णिमाको साँझ मखंबहालमा शुरुमा अन्य काठ दाउरा राखेर आगो बालिएको हुन्छ । बेलुकी जब पूर्णिमाको पूर्ण चन्द्रमा बहालको ठिक्क माथि देखा पर्छ, तब त्यसमा होम गरिएको दाउरा बाली उखु पोल्न शुरु हुन्छ । अनि त्यसपछि उखु पड्काउँदै ताततातै खाने र उही होमको आगो ताप्ने गरिन्छ ।
यो होमलाई ‘सहस्राहुति यज्ञ’ भनिन्छ । जाडो याममा पनि पौषको पूर्णिमाका दिन अझ चिसो हुने विश्वास गरिन्छ । स्थानीय नेपालभाषामा यो पूर्णिमालाई ‘मिला पुन्हि’ भनिन्छ ।
मिला पूर्णिमाका दिन श्री स्वस्थानीको कथा शुरु हुने, साँखु र भक्तपुरमा श्री माधवनारायणको व्रत बस्ने, हनुमानढोकामा श्री चाँगुनारायणको यात्रा चलाउने जस्ता पर्वहरू मनाउने गरिन्छ ।
तस्बिरः मैत्री न्यूज