साँखुको शाली नदीमा श्री माधवनारायणको व्रत

काठमाडौं, २५ पुस । हरेक वर्ष साँखुस्थित शाली नदीमा बसिने श्री माधवनारायणको व्रत शुरु भएको छ । बर्सेनि पौषशुक्ल पूर्णिमाका दिन शुरु हुने यो व्रत माघशुक्ल पूर्णिमाका दिन समापन हुन्छ ।

यो वर्ष साँखुको शाली नदीमा २२८ जना व्रतालुहरू व्रत बसेका छन् । त्यसमा १६ जना पुरुष छन् भने बाँकी सबै महिला व्रतालु छन् ।

शाली नदीमा बस्ने यो व्रतलाई अत्यन्त कठिन व्रतका रुपमा लिने गरिन्छ । पूर्णिमाका दिन व्रत बसेपछि व्रतालुहरू घर जान मिल्दैन । पूरा एक महिना शाली नदी छउमै बास बस्नुपर्ने हुन्छ । व्रतालुहरू हरेक दिन बिहान झिसमिसेमै उठेर नदीमा स्नान गर्नुपर्दछ । बेलुकी भने श्री स्वस्थानीको कथा श्रवण गरिन्छ ।

व्रतालुहरूले दिनको एक छाक मात्रै शाकाहारी भोजन गर्नुपर्ने, रातो बाहेक अर्को कपडा लगाउन नहुने, जुत्ता लगाउन नहुने, नङ कपाल काट्न नहुने आदि जस्ता नियमहरू पालना गर्नु पर्दछ ।

व्रतका क्रममा माघ ५ गतेदेखि परदेश यात्रा शुरु हुन्छ । यसको पहिलो दिन शाली नदीदेखि साँखुकै वज्रयोगिनीसम्म साष्टाङ दण्डवत् गरी (दुंदायेगु गर्दै) पुग्ने गरिन्छ ।
त्यसपछि साँखुबाट पशुपति, पशुपतिबाट फर्पिङ, पनौतीसम्म हिँडेरै पुग्ने गरिन्छ ।

अहिले साँखुमा चलिरहेको व्रतका केही तस्बिरहरूः