कपिलवस्तुमा व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता
कपिलवस्तु, २७ पुस । कपिलवस्तु नगरपालिकाका व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता बढ्न थालेका छन् ।
कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरई मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ उहाँकाे खेतमा अहिले टमाटर, काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ तर बजार पाएपनि बजार भाउ नपाउँदा चिन्तित बन्न थालेका हुन् ।
बरई आफूले गरेको मेहेनत देखेर जसरी खुसी देखिनुहुन्छ उत्तिकै बढी चिन्ता बजार मूल्यको छ । “अहिलेसम्म पर्याप्त मल पाइएको छैन, बीउबिजन पनि गुणस्तरहीन हुँदा आपतउस्तै छ”, उहाँले गुनासो गर्दै भन्नुभयो, “किसानको जीवन सधैँ चिन्तामा बित्ने भयो ।”
बुवाले गर्दै आएको तरकारी खेती आफूले पनि अँगालेको उहाँले बताउनुभयो । “म ४० वर्षको भएँ, यही तरकारी खेतीबाहेक दायाँबायाँ लागेको छैन”, उहाँले भन्नुभयो । पुर्खौँदेखि तरकारी खेती गरे पनि उहाँको जीवन भने फेरिएको छैन । घरको स्थिति विगतजस्तै छ । छोराछोरी सरकारी विद्यालयमा जसोतसो पढ्न पाएका छन् । “तरकारी खेती गरेर जीवन कहिले फेरिने हो, म त सपना देख्छु”, उहाँ भन्नुहुन्छ ।
अर्का किसान श्रीप्रसाद मौर्या पनि व्यावसायिक तरकारी खेती गर्न लागेको तीन दशक बढी भएको छ । पन्ध्र कठ्ठा क्षेत्रफलमा मौर्याले तरकारी खेती गर्दै आउनुभएको छ । बाह्रै महिना तरकारी फलाउने मौर्याको जीवन बरईको जस्तै छ । “वर्षभरि तरकारी खेती गर्योर, आम्दानी सापोनापो उहीँ हुन्छ”, उहाँले भन्नुभयो, “तरकारी फलायो फलायो मूल्य पर्दैन, समयमा मल पाइँदैन, बीचमा बिचौलिया हाबी हुन्छन्, लगानी पनि उठ्न सक्दैन ।”
अहिले बजारमा पाइने सबैथरिका मौसमी तरकारी उहाँले उत्पादन गर्नुभएको छ । तर उहाँको मनमा खुसी भने छैन । भारतबाट चर्को मूल्यमा मल ल्याउनुपर्ने अवस्था भएको उहाँको गुनासो छ । जसोतसो उत्पादन गरेको तरकारी पनि बजारसम्म पुर्याउन निकै कठिन भएको उहाँ बताउनुहुन्छ ।
बरई र मौर्याका जस्तै यहाँ व्यावसायिक तरकारी खेती गर्ने किसानको सामूहिक समस्या हो । जिल्लामा व्यावसायिक तरकारी खेती गर्दै आएका किसानले विभिन्न समस्या झेल्दै आएका छन् । समयमा मलखाद र बीउ नपाइनु, सिँचाइ सुविधा अभाव हुनु, बिक्री केन्द्र नहुनु र बीचमा बिचौलिया हाबी हुँदा व्यावसायिक तरकारी खेती गर्दै आएका किसान मर्कामा छन् ।
कृषि ज्ञान केन्द्र कपिलवस्तुका अनुसार पछिल्लो समय व्यावसायिक तरकारी खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका साविक धनकौली, निग्लिहवा, विजुवा, नन्दनगर गाविस, कपिलवस्तु नगरपालिका वडाको वडा नं ३, ४, ५, बुद्धभूमि नगरपालिकाको बुड्ढी, शिवराज नगरपालिकाको शिवपुर, चन्द्रौटा, बाणगङ्गा नगरपालिकाको मोतीपुरलगायतका स्थानमा व्यावसायिक तरकारी खेती हुँदै आएको कार्यालयले जनाएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा बजारीकरण भएको कारण किसानले उत्पादन गरेको तरकारी सजिलै बिक्री हुने गरे पनि दक्षिणी क्षेत्रका किसान मर्कामा पर्ने गरेका छन् । भारतीय सीमाबाट दैनिक भित्रने तरकारीले बजार ढाक्दा नेपाली किसान मर्कामा परेका हुन् । भारतको भन्दा नेपालको तरकारी महँगो हुने किसान बताउँछन् ।