कडा सुरक्षा घेरामा कीर्तिपुरको ढुंगो !

कीर्तिपुर, २८ पुस । कीर्तिपुर नगरपालिकाको नयाँ कार्यालय भवन अगाडिबाट माथि बाघ भैरव मन्दिर पुग्ने पुरानो सिँढीलाई अहिले जीर्णोद्धार गरी नयाँ बनाइएको छ ।
त्यो सिँढी उक्लेर बाघ भैरव मन्दिरतिर जाँदा बीच बाटोमा एउटा ढुंगो फेला पर्छ (माथि तस्बिरमा देखिएको) । स्थानीय कीर्तिपुरवासीहरू उक्त ढुंगोलाई ‘छ्याकं लोहं’ भन्दछन् ।

स्थानीय नेपालभाषामा ‘छ्याकं’ भनेको खस्रो हो भने ‘लोहं’ को अर्थ ढुंगो हुन्छ । हेर्दा खस्रो देखिने यो ढुंगो न कुनै बहुमूल्य पत्थर हो, न कुनै बेग्लै ग्रहबाट ल्याइएको हो, न कुनै विशिष्ट आकार प्रकारकै हो । तर यही एउटा खस्रो ढुंगाको ‘सुरक्षार्थ’ कीर्तिपुरमा हिजो प्रशस्त संख्यामा प्रहरी उतारिएको थियो । भुइँमा त्यसै राखिएको एउटा ढुंगो सुरक्षाको लागि यति धेरै सुरक्षाकर्मी खटाएको देखेर कीर्तिपुरवासीहरू नै चकित भए ।

सरकारले हिजो उक्त ढुंगो सुरक्षाका लागि यति धेरै सुरक्षाकर्मी परिचालन गर्नुको कारण भने त्यो ढुंगोमा कसैले थुक्ला कि भनेर रहेछ ।

हिजो पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्ती । त्यस अवसरमा पृथ्वीनारायण शाहको विरोध गर्ने आदिवासी जनजातिहरूको एउटा समूहले उक्त ढुंगामाथि थुक्ने कार्यक्रम राखेको थियो । ढुंगामाथि थुकेर पृथ्वीनारायण शाहको अपमान गर्ला भनेर हिजो त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको रहेछ ।

ढुंगो भएको ठाउँमा मात्र होइन हिजो प्रशासनले टीयू गेट र कीर्तिपुर प्रवेशद्वारमा समेत प्रशस्त मात्रामा सुरक्षाकर्मी परिचालन गरेका थिए । ती सुरक्षाकर्मीले मंगोल जस्तो अनुहार देखिने र कीर्तिपुरमा नयाँ जस्तो लाग्ने मान्छेहरू देख्नेबित्तिकै समातिहाल्ने गर्न थालेका थिए ।

त्यतिमात्रै होइन, सुरक्षाकर्मीले छ्याकं लोहंमा कसैलाई फोटो र भिडियो खिच्न समेत प्रतिबन्ध लगाएको थियो ।

यसरी हिजो कीर्तिपुर क्षेत्रमा मात्रै प्रहरीले विभिन्न समयमा गरी ११० जना मानिस पक्राउ गरेको थियो । उनीहरूलाई बग्गीखाना, टेकु, कालिमाटी र गौशाला प्रहरी चौकीमा राखिएको थियो भने बेलुकी मात्रै सबैलाई छोडिएको थियो ।

त्यस क्रममा उग्र जनजाति अगुवाको छबी बनाएका आङकाजी शेर्पा पनि पक्राउमा पर्नुभएको थियो ।

छ्याकं लोहं के हो ?

पृथ्वीनारायण शाहको विरोध गर्नेहरू छ्याकं लोहंमै गएर थुक्न जानुको कारण के होला ? यसको भने आफ्नै ऐतिहासिक कथा छ ।

कीर्तिपुरको जुन ठाउँमा अहिले ‘छ्याकं लोहं’ रहेको छ, त्यो ठाउँ पृथ्वीनारायण शाहले गरेको कीर्तिपुर आक्रमणसँग सम्बन्धित छ । कोही भन्छन्, कीर्तिपुर हमला गर्न आएका पृथ्वीनारायण शाह यो ठाउँमा एक पटक चिप्लेर लडेका थिए । त्यस्तै कोही भन्छन्, कीर्तिपुरेको आक्रमणबाट घाइते भएका कालु पाण्डे यही ठाउँमा ढलेका थिए ।
तीन पटकको प्रयासपछि बल्ल बल्ल कीर्तिपुर जितेका पृथ्वीनारायण शाहले जित पछि कीर्तिपुरेहरूको नाक र ओंठ काट्न लगाएका थिए ।

यसरी आफूमाथि बर्बर व्यवहार गर्ने पृथ्वीनारायण शाहलाई कीर्तिपुरवासीहरू अत्यन्त घृणा गर्छन् । सोही घृणा व्यक्त गर्न कीर्तिपुरवासीहरू अहिले पनि उक्त छ्याकं लोहंमा थुक्ने गर्छन् । उक्त बाटो भएर जाने जो कोहीले पनि एकपटक छ्याकं लोहंमा थुकेरै जाने गर्छन् । यो कीर्तिपुरवासीको चलनै बनिसकेको छ ।

केही वर्ष अघिदेखि हरेक पुस २७ गतेका दिन आदिवासी जनजातिहरूले यही ढुंगोमा थुकेर विरोध प्रकट गर्ने कार्यक्रम सञ्चालन गर्दैै आइरहेका छन् । यो वर्ष सरकार आफैले पृथ्वी जयन्ती मनाउने घोषणा गरेका कारण छ्याकं लोहंमा कडा सुरक्षा व्यवस्था गरेको थियो ।