चोभारमा गाडी खसेर बेपत्ता भएका व्यक्तिको खोजी जारी

काठमाडौं, ३ माघ । कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित चोभार जलविनायकमा हिजो गाडी खसेर बेपत्ता भएका एक व्यक्तिको खोजी शुरु भएको छ ।

हिजो सोमवार दिउँसो चोभारबाट कीर्तिपुरतर्फ आइरहेको बा. ५ च ५६५४ नम्बरको कार जलविनायक मन्दिर नजिक बागमती नदीमा खसेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार कारमा दुई जना सवार थिए । कारमै घाइते अवस्थामा उद्धार गरिएका ३५ वर्षीय अम्बिका लामिछानेलाई अहिले बल्खुको वयोधा अस्पतालमा उपचार गरिँदैछ ।

नदीमा खसेर बेपत्ता भएका व्यक्ति दक्षिणकाली नगरपालिका वडा १ निवासी रामकुमार लामिछाने रहेको बुझिएको छ ।

नदीमा बेपत्ता भएका लामिछानेलाई खोज्न आज बिहानैदेखि सशस्त्र प्रहरी लागिरहेको छ । प्रहरी जवानहरू नदीमा पसेर खोज्ने कार्य गरिरहेका छन् ।

चोभारको यो गल्छी काठमाडौंबाट बग्ने बागमती नदीको अन्तिम बिन्दू हो । यसपछि बागमती तराईतिर बग्छ । पहिले पहिले बागमती नदीमा पानीको प्रवाह हुँदा बागमतीले बगाएका मानिसलाई चोभारको यी गल्छीमा आएर खोज्ने गरिन्थ्यो । यहाँ भेटिएन भने खोजी कार्य रोक्ने गरिन्थ्यो ।