के तपाईलाई थाहा छ? ५२ देशका ७४६ भन्दा बढी मानिस पुगिसके अन्तरिक्ष

तथ्यांकअनुसार अन्तरिक्ष यात्रा गर्ने अधिकांश मानिसहरू आफ्नो पहिलो उडानका समयमा ३० वा ४० वर्षका थिए, जसले कुल संख्याको ८५ प्रतिशत ओगटेको छ। अन्तरिक्षयात्रीको औसत (Median) उमेर ४० वर्ष रहेको छ।

काठमाडौं ।  विश्वभर अन्तरिक्ष विज्ञान र प्रविधिले मानव जीवनमा पुर्याएको योगदानको स्मरण गर्दै मनाइने ‘विश्व अन्तरिक्ष सप्ताह’ को अवसरमा अन्तरिक्ष यात्रासम्बन्धी एक रोचक तथ्यांक बाहिर आएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष अक्टोबर ४ देखि १० तारिखसम्म मनाइने यस सप्ताहको पृष्ठभूमिमा हालसम्म ५२ वटा विभिन्न देशका ७४६ भन्दा बढी नागरिकले अन्तरिक्षको यात्रा गरिसकेको खुल्न आएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘अल जजिरा’ द्वारा प्रकाशित एक भिजुअल एक्सप्लनेर (Visual Explainer) अनुसार व्यावसायिक अन्तरिक्ष पर्यटकदेखि व्यावसायिक अन्तरिक्षयात्रीहरूसम्मले यो सफलता हासिल गरेका हुन्। आजभन्दा ठ ακै ६९ वर्षअघि सोभियत संघले पृथ्वीको परिक्रमा गर्ने पहिलो कृत्रिम उपग्रह ‘स्पुत्निक १’ (Sputnik 1) प्रक्षेपण गर्दै अन्तरिक्ष युगको आरम्भ गरेको थियो। यसैको ठीक १० वर्षपछि, १० अक्टोबर १९६७ मा ‘बाह्य अन्तरिक्ष सन्धि’ (Outer Space Treaty) लागू भएको थियो, जसले अन्तरिक्षको शान्तिपूर्ण प्रयोग र कुनै पनि देशको सार्वभौमिक दाबी नरहने व्यवस्था गरेको छ।

अमेरिका र रुसको अग्रता, चीन तेस्रो स्थानमा

कार्मिन रेखा (Karman line – पृथ्वीको सतहबाट १०० किलोमिटर माथिको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमा) को आधारमा हालसम्म ५२ देशका ७४६ जनाले अन्तरिक्षको सहर पार गरिसकेका छन्। कतिपय अन्तरिक्षयात्रीहरूले दोहोरो नागरिकता लिएका छन् भने केही सोभियत संघजस्ता अस्तित्वमा नरहेका देशहरूको प्रतिनिधित्व गर्दै अन्तरिक्षमा पुगेका थिए।

अन्तरिक्ष यात्राको यो लामो इतिहासमा दुई ठूला देशको मुख्य वर्चस्व कायम छ:

  • संयुक्त राज्य अमेरिका: ३६९ जना

  • सोभियत संघ र रुस (संयुक्त): १३८ जना

  • चीन: आफ्नै रकेटमार्फत मानव अन्तरिक्षमा पठाउने तेस्रो देश बनेको चीनले हालसम्म २९ जनालाई अन्तरिक्षमा पठाइसकेको छ।

त्यस्तै, हाल ८० भन्दा बढी देशहरूले आफ्ना उपग्रहहरू (Satellites) लाई कक्षमा स्थापित गरिसकेका छन्।

अन्तरिक्षमा महिला सहभागिता: ७ मध्ये १ जना महिला

अन्तरिक्ष क्षेत्रमा अझै पनि पुरुषहरूको वर्चस्व रहेको तथ्यांकले देखाएको छ। अन्तरिक्ष पुग्ने कुल ७४६ जनामध्ये मात्र ११२ जना (अर्थात् १५ प्रतिशत वा करिब ७ जनामा १ जना) मात्र महिला रहेका छन्।

सोभियत अन्तरिक्षयात्री भ्यालेन्टिना तेरेश्कोभा (Valentina Tereshkova) सन् १९६३ को जुन महिनामा अन्तरिक्षमा पुग्ने पहिलो महिला बन्नुभएको थियो। त्यसको २० वर्षपछि मात्र अमेरिकाले सन् १९८३ मा साल्ली राइड (Sally Ride) लाई अन्तरिक्षमा पठाएको थियो। यद्यपि, हाल व्यावसायिक उडानहरूको वृद्धिसँगै अन्तरिक्षमा महिलाहरूको हिस्सा बढ्दो क्रममा छ। सन् २०२० यता अन्तरिक्ष यात्रा गरेका कुल महिलाहरूको आधाभन्दा बढी संख्या ब्लु ओरिजिन (Blue Origin) को सबअर्बिटल रकेटमार्फत भुक्तानी गर्ने यात्री वा अतिथिका रूपमा गएका थिए।

अन्तरिक्षयात्रीको औसत उमेर ४० वर्ष, १८ देखि ९० वर्षसम्मकाे यात्रा

तथ्यांकअनुसार अन्तरिक्ष यात्रा गर्ने अधिकांश मानिसहरू आफ्नो पहिलो उडानका समयमा ३० वा ४० वर्षका थिए, जसले कुल संख्याको ८५ प्रतिशत ओगटेको छ। अन्तरिक्षयात्रीको औसत उमेर ४० वर्ष रहेको छ।

व्यावसायिक उडानहरूको सुरुआससँगै यो उमेरको दायरा फराकिलो भएको छ। सन् २०२१ मा १८ वर्षको उमेरमा उडान भरेका ओलिभर डेमेन हालसम्मकै कान्छो अन्तरिक्षयात्री बन्नुभएको छ भने, सन् २०२४ मा ९० वर्ष आठ महिनाको उमेरमा अन्तरिक्ष पुगेका एड ड्वाइट (Ed Dwight) हालसम्मका सबैभन्दा पाको उमेरका अन्तरिक्षयात्री हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *